मैले बुझेको डा.बाबुराम भट्टराई
अमित खनाल
पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ,एकजना यस्तो नेता जसलाई बुझ्नु भनेको केवल राजनीतिक जीवनको कथा पढ्नु होइन, त्यो एक अन्तहीन आत्मसंघर्ष, निष्ठा र वैचारिक यात्राको गहिराइमा पुग्नु हो, त्यही गहिराईमा डुब्नु हो र केही मणि फेलापार्नु पनि हो।
नेपाली उखान ‘चिन्नेलाई श्रीखण्ड,नचिन्नेलाई खुर्पाको बिंड’ भने जस्तै बाबुरामलाई जसले नजिकबाट चिनेको छ उसले कहिल्यै गाली गर्दैन । तर,जसले चिनेको छैन वा अर्काको उडन्ते कुरा मात्रै सुनेको छ उसले गर्ने गाली नै हो। त्यसैले जसले जसरी चिनेपनी मैले चिनेको र मैले बुझेको बाबुराम भट्टराई बारे मात्रै म केही भन्न खोजिरहेको छु।
मैले उनलाई एउटा “One Man Army” को रूपमा बुझेको छु, जसले इतिहाससँग जुध्न, व्यवस्थालाई प्रश्न गर्न, र आत्मालोचनाबाट आफूलाई परिमार्जन गर्न कहिल्यै हिचकिचाएनन्। उनी राजनीतिमा आएका असंख्य पात्रहरू जस्तो हैसियतका लागि आएनन्; उनी विवेक र समर्पण लिएर आएका थिए, अनि अझैपनि त्यसै बाटोमा टिकिरहेका छन्।
उनीमाथि अनेक आरोपहरू लागे, अनेक अनगिन्ती आलोचना सहनुपर्यो। तर डा. भट्टराई कहिल्यै ती आरोपहरूबाट भागेनन्। उनले ती सबैलाई जवाफ दिने शैली आफ्नो विवेक, विश्लेषण र स्पष्ट दृष्टिकोणमार्फत देखाए। उनीमाथि कहिलेकाहीँ ‘उग्रपन्थी’ को आरोप लाग्यो, कहिले ‘संशोधनवादी’ को, त कहिले ‘अवसरवादी’ को ,तर ती सबै आरोपहरूलाई उनले समय र सत्यको तुलोमा पारखेर आफूलाई सधैं ‘प्रगतिशील परिवर्तनको’ पथमा राखे।
उनले कहिलेकाहीँ गल्ती गरे, स्वीकार गरे। तर त्यो स्वीकारोक्ति कमजोरी थिएन, त्यो नेतृत्वको प्रौढताको प्रमाण थियो। उनी विश्वास गर्छन् कि गल्तीहरू सच्चिनका लागि हुन्छन्, न कि लुकाउन वा जोगाउनका लागि। राजनीतिमा यस्तो चरित्र बिरलै पाइन्छ ,जहाँ एक नेताले आफ्ना कमजोरीहरू स्विकारी त्यसबाट सिकेर अझ गहिरो चेतनासाथ अघि बढ्न सक्छ। डा. भट्टराईले देखाए कि आत्मालोचना कायरता होइन, आत्मबलको प्रतीक हो।
आजको राजनीतिमा पद, शक्तिको होड, र वंशवादको खेल मौलाउँदै गएको छ। तर बाबुराम त्यस भण्डारमा कहिल्यै पस्न सकेनन् ,वा भनौं, चाहेनन्। उनी भन्छन्: “यदि मलाई मात्र चाहिएको भए पद र पहुँच, म त अझै माओवादीमै बसेर प्रचण्डजस्तै आफ्नी छोरीको राजनीतिक भविष्य बनाउन सक्थें।” हो, त्यो सम्भव थियो। किनभने डा. भट्टराईसँग त्यो क्षमता थियो, त्यो हैसियत थियो। तर उनीमा ‘ईमानदार राजनीतिकाे भूत’ सवार थियो ,जो आजको सत्ता केन्द्रित, अवसरवादी राजनीतिमा असहज लाग्छ।
उनको शिक्षा, योग्यता र अन्तर्राष्ट्रिय क्षमताले उनलाई लाखौं कमाउन सक्ने बाटो खुला थियो। उनी चुपचाप कुन विश्वविद्यालयको प्राध्यापक भएर जीवन बिताउन सक्थे, वा कुनै अन्तर्राष्ट्रिय संस्थाको उच्च ओहदामा रही भव्य जीवनशैली अपनाउन सक्थे। तर उनले त्यो बाटो रोजेनन्। उनले रोजे नेपाली जनताको पक्षमा आफ्ना सीप, चेतना र सम्पूर्ण क्षमताको प्रयोग गर्ने बाटो। आज उनीसँग न सत्ताधारी नेताजस्तो सम्पत्ति छ, न त भव्य जीवनशैली। उनीसँग छ ,समर्पण, प्रतिबद्धता र राजनीतिक ईमानदारिता, जुन आजको समयमा सबैभन्दा अभावग्रस्त गुण हो।
नेपाली राजनीतिमा कतिपय नेताहरू सधैं भावनामा बग्ने, वा शक्ति सन्तुलनको खेलमा रमाउने देखिन्छन्। तर डा. भट्टराई तिनको बीचमा एक फरक मानक हुन्। उनी तर्कमा विश्वास गर्छन्, तथ्यमा अडिन्छन्, र दीर्घकालीन सोच राख्छन्। उनीसँग देशको संरचना मात्र बदल्ने होइन, देशको सोच बदल्ने खाका पनि छ। ‘समृद्ध नेपाल’ भन्ने नारा जति धेरैको मुखमा सुनिन्छ, त्यसभन्दा धेरै डा. भट्टराईको नशामा बग्दछ ,वैज्ञानिक सोच, सामाजिक समावेशिता र संघीय संरचना प्रति उनको निष्ठा त्यसको प्रतिविम्ब हो।
उनको आत्मा राजनीतिक सत्ताभन्दा राष्ट्रिय स्वाभिमानमा रमाउँछ। त्यसैले उनी शक्ति केन्द्रको वरिपरि घुमिरहनुभन्दा वैकल्पिक विचार निर्माणमा लागिरहन्छन्। चाहे त्यो समावेशी समाजको परिकल्पना होस्, संघीयता होस्, धर्मनिरपेक्षता होस् वा वैज्ञानिक समाजवाद ,उनी यथार्थको धरातलमा उभिएर सपना देख्छन्, अनि त्यसलाई कार्यान्वयनतर्फ अघि बढाउँछन्।
यसकारण, मैले बुझेको डा. बाबुराम भट्टराई राजनीतिमा एक असाधारण व्यक्तित्व हुन्। उनी न त कहिल्यै हार माने, न त कहिल्यै सस्तो लोकप्रियताको पछि लागे। उनी न त जनताको भावना बेच्न चाहन्छन्, न त आफ्ना आदर्शहरू गिरवी राख्न तयार छन्। उनीसँग जे छ, त्यो हो ,विचार। त्यो विचारले उनलाई आज पनि सजीव बनाएको छ, संघर्षशील बनाएको छ, र विश्वासिलो बनाएको छ।
अन्त्यमा, बाबुराम भट्टराई एक नजिर हुन् ,जसले देखाए कि राजनीति केवल सत्ता पाउने यात्रा होइन; त्यो समाज रूपान्तरण गर्ने अभियान हो। उनी हिजोका हुन्, तर आज पनि छन्, र भोलिको नेपालले अझ धेरै उनीजस्ता सच्चा आलोचक, सुधारक र विचारक नेताहरूको आवश्यकता चाहेको छ।

