देशभर अनिश्चितकालीन यातायात बन्द

काठमाडौ । यातायात व्यवसायीले आज सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । घोषणासँगै बिहानैदेखि सडकमा यातायात कम चलेको छ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले जनाएको छ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गर्ने भनेका हुन् ।

व्यवसायीले यसबारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सरकार र सरोकारवाला निकायले नसुनेपछी बाध्य भएर सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनीहरुको भनाइ छ ।

यसैबिच ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय