न्याय र मानवता हराएको जस्तो लाग्यो : निकिता पौडेल

काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतबाट भएको आदेशपछि न्याय र मानवता हराएको टिप्पणी गरेकी छन् ।

सर्वोच्च अदालतबाट आफ्नो श्रीमान्‌को मुद्दामा न्यायको आशा लिएर पुगेकी निकिता लामिछानेले न्यायालयबाट ‘न त न्याय पाइयो, न त मानवीय व्यवहार’ भन्दै गहिरो दुःख र आक्रोश व्यक्त गरेकी छिन्।

शुक्रबार अन्तिम सुनुवाइको दिन अदालतमा पुगेकी निकिताले अदालतको आदेशबारे आधिकारिक जानकारी नपाएर सात घण्टासम्म प्रतीक्षा गर्नु परेको बताइन्। “हाम्रो तर्फबाट बहस राम्रो भयो, बेञ्चका सबै प्रश्नको तथ्यपूर्ण जवाफ दिएका थियौं,” उनले भनिन्, “तथ्यका आधारमा न्याय मिल्छ भन्ने दृढ विश्वास थियो।”

तर, बहस सकिएर करिब दुई बजेतिरदेखि आदेशको पर्खाइमा बसे पनि अदालतका प्रवक्ताले आधिकारिक जानकारी नदिएको निकिताको गुनासो छ। “प्रवक्ताको कार्यकक्षमै बसेर आदेश पर्खिरहेकी थिएँ, तर ‘एकैछिन’ भनेर बाहिर निस्किएका प्रवक्ता फर्किएनन्,” निकिताले भनिन्, “अन्ततः बाहिरबाटै श्रीमान्‌को आदेशबारे नकारात्मक खबर सुनें। अदालत प्रशासनको यो कस्तो गैरजिम्मेवारी?”

उनले अदालतले आफ्नो श्रीमान्‌को मुद्दामा न त न्याय दिएको न त मानवताको व्यवहार देखाएको भन्दै आक्रोश प्रकट गरिन्। “मानवता हराएको देश जस्तो लाग्यो,” निकिता भन्छिन्, “पानी परिरहेको थियो, आदेश नपाउँदै, आश मरेको मन लिएर अदालतबाट निस्किएँ।”

शुक्रबारको तनाव, अनिन्द्रा र आँसुले त्यो दिनलाई ‘जिन्दगीको सबैभन्दा कठिन दिन’ बताएकी निकिता भोलिपल्ट भैरहवा पुगेकी थिइन्। “कसरी अगाडि बढेँ, कसरी उहाँको अगाडि पुगें, मलाई थाहा छैन, जिउँदो लास भएर हिंडेजस्तो लाग्यो,” उनले भनिन्।

निकिताले कुनै प्रमाणबिना नियतवश उनका श्रीमान्‌लाई थुनिएको दाबी गर्दै गैरकानूनी पक्राउबारे परेको रिटमा समेत अदालत मौन बसेकोमा गहिरो निराशा व्यक्त गरिन्। “अब म न्याय माग्न कहाँ जाऊँ?” उनले प्रश्न गरिन्, “गणतन्त्रमा समेत न्याय र मानवता मृत भेटेपछि मेरो आस्था हल्लिएको छ। थाहा छैन, फेरि कहिले स्थिर होला।”

उनको भनाइले न्याय प्रणालीप्रतिको आम नागरिकको विश्वासमा गम्भीर प्रश्न उठाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय