प्रधानमन्त्री पोखरा जाँदै

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्  ।

पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली ११:३० मा पोखरा पुग्नेछन् । प्रधानमन्त्री आजै काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।आयोजक युवा संघका नेताहरु पोखरा जानु अघि ओलीले बालुवाटार बोलाएर नयाँ नेतृत्व सकेसम्म सर्वसम्मत रूपमा चयन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले इन्चार्जसहित युवासंघका वर्तमान पदाधिकारीलाई बालुवाटारमा बोलाएर केही टिप्ससहितको निर्देशन दिएका हुन् ।‘कुनै झगडा, होहल्ला र विभाजनको दिशामा नगई सर्वसम्मत नेतृत्व चयन गरेर युवा संघले एकताको सन्देश दिन सक्नुपर्छ’, संघका पदाधिकारीहरूलाई सुझावसहितको निर्देशन दिँदै अध्यक्ष ओलीले भनेका छन्, ‘युवा संघ एक ढिक्का भएको सन्देश देशभर प्रवाह हुन सकोस् । त्यसैले कोही पनि पोखराबाट फर्कँदा रातोपिरो कालो अनुहार नहोस् ।’

नौ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्न झण्डै १८ सय महाधिवेशन प्रतिनिधि बिहीबार नै पोखरा पुगेका छन् । युवा संघको अध्यक्षमा हालका अध्यक्ष क्षितिज थेबेसहित उपाध्यक्षहरू र महासचिव आकाङ्क्षी देखिएका छन् । अध्यक्ष थेबेले पनि नेतृत्व सर्वसम्मत ढंगले चयन हुने सम्भावना बढ्दै गएको बताए ।

युवा संघको अध्यक्षमा संगठनका वर्तमान अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरी आकाङ्क्षी देखिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय