चलचित्रमा ‘काठमाण्डु कोरिडोर’ खोज्दै तन्नेरी पुस्ता

काठमाडौं सुकेधारा स्थित ओस्कार इन्टरनेशनल कलेज आफ फिल्म स्टडिजमा अध्यन गरेका जुझारु युवाहरूको टिमले चलचित्र “काठमाण्डु कोरिडोर” निर्माण गर्ने भएका छन् ।
मिराज मोसन पिक्चर्सको प्रस्तुति रहने चलचित्रमा ओस्कार ईन्टरनेशनल कलेज र जुन्को पिक्चर्सले सहकार्य गर्नेछन् । चलचित्रको मंगलबार कलेजमै आयोजित समारोहमा ‘टाइटल’ अनावरण गरियो।
ओस्कार कलेजकै पुर्व विद्यार्थी र हाल अध्यापन गराइरहेका उज्ज्वल बस्ताकोटीको निर्माण र ओस्कारकै विद्यार्थी सुरज कटुवालको लेखन तथा निर्देशन रहने चलचित्रमा अधिकांश कलाकार र प्राबिधिक ओस्कार कलेजकै हुनेछन् । सुरज कटुवाल हाल प्रदर्शन भैरहेको चलचित्र ‘उनको स्वीटर’ का समेत सह-लेखक हुन् ।

फिल्म सम्बन्धि सबै बिधा पढाउदै आएको ओस्कार कलेजले अब चलचित्र निर्माण समेत सुरु गर्न लागेको हो। कलेजले आफ्ना विद्यार्थीको पढाईसँगै उनीहरुको प्रतिभा र कामलाई प्रोत्साहन दिन सिनेमा निर्माणमा पनि जुटेको जनाएको छ।
जसरी फराकिलो काठमाण्डु साँघुरो बन्दै गएपछि कोरिडोरको विकास र विस्तार भयो त्यसैगरी कोरिडोर वरिपरि बस्नेहरूका पनि आफ्नै कथा,ब्यथा र जीवन घुमिरहेको छ। टाइटलबाट के स्पस्ट हुन्छ भने कोरिडोर आसपासकै कथा चलचित्रमा देख्न पाइनेछ।

अर्को साताबाट छायांकन सुरु हुने चलचित्र ‘काठमाण्डु कोरिडोर’ले आफ्नै कथा भन्छ वा पात्रको कथालाई आफ्नो कोरिडोरमा घुमाउँछ त्यो भने चलचित्र निर्माण भएपछि मात्रै थाहा हुनेछ।
वरिष्ठ चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा,नरेन्द्र खड्का,कलेजका प्रीन्सिपल रामराजा दाहाल,शेखर खरेल लगायतले चलचित्र निर्माणमा जुटेका तन्नेरी पुस्तालाई शुभकामना दिएका थिए।


