गाउँदेखि सहरसम्म भोजमा दही र मही

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो।

तर अहिले परिस्थिति फेरिँदै गएको छ। गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ।

पछिल्लो केही वर्षदेखि भोजभतेरमा मही तथा दहीको प्रयोग अनिवार्य जस्तै बन्दै गएको कावासोतीस्थित पानस पार्टीप्यालेसका सञ्चालक गुरु पोख्रेलले बताए ।

‘पहिले गाउँघरमा मही र दही भोजमा अनिवार्यजस्तै थियो । अहिले पनि त्यसैगरी भोजमा मही र दही राख्न थालिएको छ’, उनले भने । गाउँमा मात्र होइन, सहरबजारका पार्टीप्यालेसमा पनि अब मही विशेष पेयका रूपमा प्रस्तुत गरिन थालेको छ । पार्टीप्यालेसका सञ्चालक पोख्रेलका अनुसार पहिला चिसो पेय र बोतलको पेय राखिन्थ्यो । अहिले ग्राहक आफैले मही माग्छन् । हामीले भोजभतेरको ‘मेनु’ मा नै दही महीलाई समावेश गर्न थालेका छौँ ।’

जिल्लामा पछिल्लो समय आयोजना गरिने सभासमारोह एवं औपचारिक कार्यक्रममा पनि महीको प्रयोग हुन थालेको छ। यस्ता कार्यक्रममा खाजाका रूपमा तयारी जुस वा चिया दिइने गरेकामा गर्मी मौसममा मही नै रोजाइमा पर्न थालेको देवचुली नगरपालिका–१० का राजु चापागाईले बताए ।

‘स्वाद, स्वास्थ्य र संस्कृतिको संगम बनेको मही हिजोआज भोजभतेरसँगै औपचारिक कार्यक्रममा पनि राखेको देख्न पाइन्छ’, उनले भने । विशेषगरी गर्मी मौसममा महीले चिसो र शीतल पार्ने हुँदा यसको प्रयोग बढ्दो छ। देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार मही प्रोटिन, क्याल्सियम र इलेक्ट्रोलाइट्सले भरिपूर्ण हुन्छ । भोजमा कोल्ड ड्रिङ्कको सट्टा मही राख्दा स्वास्थ्यका लागि लाभदायक हुने उनको भनाइ छ।

माग बढ्न थालेपछि स्थानीय पशुपालक तथा दुग्ध उत्पादक किसानले दही र महीको आपूर्तिमा ध्यान दिन थालेका छन्। भोजभतेर तथा कार्यक्रमका लागि दैनिक दही र महीको माग आउने क्रम बढेको गौरादेवी नवीन कृषि तथा पशु फार्म कावासोती–६ का सञ्चालक गङ्गाधर न्यौपानेले बताए। ‘हिजोआज भोजमा एकैचोटी सयौँ किलो दहीको माग आउँछ। यसले किसानलाई फाइदा पुगेको छ’, उनले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय