गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा

काठमाडौं । नगरवासीको स्वास्थ,शिक्षा र सुरक्षामा बिशेष ध्यान दिँदै आएको काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले अब आध्यात्मिक र स्वास्थलाई समेत जोडेर ‘योग नगर’ बन्ने सुरुवात गरेको छ।
योगले मानिसको तनाव कम गर्नुको साथै सकारात्मक सोच र क्षमता विकास गर्ने भएकोले शनिबार आयोजित एक कार्यक्रममा गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा गरिएको छ ।
काठमाडौं क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं अर्थ समिति सभापति सन्तोष चालिसे र गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसाल समेतले कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरेका हुन् ।
कार्यक्रमको अवसरमा सांसद चालिसेले विश्वभर विभिन्न नयाँ-नयाँ रोग फैलिएका र अशान्ति बढिरहेका बेला योगको माध्यमबाट नागरिकका तनाब हटाइ स्वस्थ राख्न सहयोग पुग्ने बताए। उनले हरेक तनावग्रस्त जीवनबाट मानिसलाई मुक्ति दिलाउन योगाभ्यास महत्त्वपूर्ण विधि हुनसक्ने समेत बताए।
यसैगरी नगरवासीको स्वास्थमा असाध्य रचनात्मक र महत्त्वपूर्ण काम गर्दै आएका गोकर्णेश्वरका मेयर दिपक कुमार रिसालले पनि नगरपालिकाले जनस्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको स्मरण गराउदै आगामी दिनमा योग र ध्यानलाई अझै उच्च महत्व दिइने बताए ।
गोकर्णेश्वर नगरपालिकाका नौ वटै वडाका ४० योग केन्द्रमा नियमित योगाभ्यास हुने गरेको छ । नेपालमा पतञ्जली, जीवन विज्ञान, आर्ट अफ लिभिङ, ओशो, ब्रह्मकुमारी राजयोगलगायतका संस्थाले नियमित ध्यान र योग सिकाउँदै आएका छन् । यी बाहेक केही सामाजिक संस्था र युवा समूहले समेत योग सुरुवात गरेका छन् ।

