उच्च शिक्षा सुधारका निम्ति छलफल सुरु

काठमाडौं । नेपालमा उच्च शिक्षा सुधारका निमित्त शिक्षा क्षेत्रमा योगदान दिएका र शिक्षामा सुधार खोजिरहेका केही ब्यक्तिले छलफल सुरु गरेका छन् ।

उच्च शिक्षा प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा उनीहरुले नेपालमा शिक्षाको स्तर सुधारबारे गहन छलफल सुरु गरेका हुन । उनीहरुले नेपाली विद्यार्थी बिदेशतर्फ आकर्षित हुनु र अभिभावकले पनि उतै पठाउन जोडगर्नुलाई दु:खद भएको समेत औंल्याए । पछिल्लो समय नेपालमा २४ वटा विश्वविद्यालय उच्च शिक्षाका निमित्त तयार भएपनि नेपाली विद्यार्थी तथा अभिभावकको चाहना विदेशतिर बढ्नु चिन्ताको बिषय भएको उनीहरुको भनाइ थियो।

उच्च शिक्षा प्रतिष्ठानका अध्यक्ष एवम् त्रिविका पूर्व उपकुलपति डा. तीर्थ खनियाले नेपालबाट अघिल्लो आठ महिनाको अवधिमा मात्रै १ खर्ब ५० अर्ब बराबरको रुपैयाँ उच्च शिक्षाका निमित्त विदेशिएको तथ्याङ्क प्रस्तुत गरे । जब कि नेपालको सिङ्गो शिक्षा प्रणालीका निमित्त २ अर्ब लगभग रकम विनियोजन हुने गरेको छ। शिक्षा क्षेत्रमा देखिएको यति ठूलो विरोधाभासका कारणहरू खोज्दै विद्वानहरूले आत्मसमीक्षा गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए । निश्चय पनि नेपालमा उच्च शिक्षाका लागि गरिने लगानीको गुणस्तरबारे प्रश्न हुन थालेको छ।

विद्यार्थीहरू बाहिर जानुमा पुस फ्याक्टरका रुपमा गुणस्तरीय शिक्षामा कमी, आर्थिक सुविधाको अभाव, राजनैतिक अस्थिरता तथा कामका सीमित अवसर आदि औलाइएको थियो । यसैगरी, पुलिङ फ्याक्टरका रूपमा विदेशमा मात्र राम्रो ठानिने मनोविज्ञान, स्कलरशिपको व्यवस्था र वृत्ति विकासका निमित्त अवसर लगायतका कुराहरु रहेका छलफलमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रोफेसर डाक्टर खगेन्द्र भट्टराई, चिरञ्जीवी श्रेष्ठ, अभिमन्यु थापा, भोला थापा, प्रेमनारायण अर्याल, शान्ति कृष्ण अधिकारी, रमेश ढुंगेल, प्रेमप्रसाद पौडेल, हरि लम्साल, दिल्लीराम उप्रेती, शिवकुमार सापकोटा, वेदराज आचार्य लगायतले विचार व्यक्त गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय