राजावादी भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी भनेर सडकमा उफ्रिनेलाई भन्दा पशुपतिका बाँदरलाई प्रधानमन्त्री र मन्त्री बनाउनु राम्रो भएको टिप्पणी गरेका छन् ।
नेकपा एमाले झापाले शनिबार दमकमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गत चैत १५ गते भएको राजावादीको प्रदर्शनलाई विध्वंशको रुपमा आलोचना गर्दै यस्तो बताएका हुन्।‘तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे,’ प्रधानमन्त्रीले भने, ‘आगजनी, तोडफोड गर्दै, ढुंगा मुढा गर्दै, घर फोड्दै, उद्योगधन्दाहरुमा आगो लगाउँदै, अरुका पसलहरु लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सिका बोतल चोर्दै भाग्दै गरेका। स्याउ चोरेर भाग्दै गरेका। औषधी कारखाना आगो लगाउँदै गरेका। यस्ताले बनाउँछन् देश?’
प्रधानमन्त्रीले सभामा अझै आलोचना गर्दै भने-‘राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो हो।’ उनले राजा फर्काउने भन्ने कुराको पनि कडा प्रतिवाद गर्दै भने, ‘राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे। तिनीहरुलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’

