कारागार पस्दैगर्दा रविले भने-‘पालो सबैको आउँछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले आफुमाथी प्रतिशोध राखेर जेल पठाइएको भन्दै पालो सबैको आउने चुनौती दिएका छन् ।
संगठित तवरले सहकारी ठगेको अभियोगमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछानेले रूपन्देहीको भैरहवा कारागारमा थुनिदै गर्दा यस्तो बताएका हुन् । उनले आफूमाथि बर्तमान सरकारले गरेको प्रतिशोधको बदला जनताले लिने समेत बताए।
गत शुक्रबार राति काठमाडौं बुढानिलकण्ठ स्थित निवासबाटै पक्राउ परेका उनलाई त्यस रात जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर शनिबार हवाइ मार्ग हुँदै रुपन्देही लगिएको थियो।तर, शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो। लगत्तै अदालतले थुनुवा पुर्जी दिएर उनलाई भैरहवा कारागार पठाइएको हो।
कारागार जानुअघि उनले सञ्चारकर्मीहरूसँग छोटो कुराकानी गर्दै रिहाइको लागि कानुनी संघर्ष जारी राख्ने बताए। त्यसैगरी उनले भने, ‘अदालतको आदेशको सम्मान गर्छु। कानुनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’
उनले आफूमाथि प्रतिशोध भएको भन्दै अरूले पनि यो अवस्थाबाट गुज्रिनुपर्ने चेतावनी पनि दिए। उनको भनाइ थियो, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ।मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ।’

