तीनकुनेमा हराएको सरकार !

सम्पादकीय

चैत १५ गते मध्यान्ह संघीय राजधानी रहेको काठमाडौं उपत्यका भित्र दुई भिन्न कार्यक्रम हुँदैथियो। भृकुटीमण्डप र तीनकुने क्षेत्रमा आयोजना गरिएका छुट्टाछुट्टै कार्यक्रमका आयोजकले जिल्ला प्रशासनबाट अनुमति पनि लिएका थिए।

आयोजक मध्य गणतन्त्र पक्षधरको नेतृत्व समाजवादी मोर्चाका नेताले गरिरहेका थिए भने राजावादीको नेतृत्व नवराज सुवेदी र फिल्ड कमान्डर थिए दुर्गा प्रसाईं ।

यहाँ सम्म सबैकुरा ठिकठाक चलिरहेको थियो। कार्यक्रमका लागि दुवैतिर मञ्च बनिसकेको थियो। जुलुस पनि सुरु भैसकेको थियो। दुबै कार्यक्रमबारे सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र देशकै सुरक्षाको जिम्मेवारी लिएका गृहमन्त्री रमेश लेखक पुर्ण जानकार थिए। सरकार मातहतका निकायलाई त जानकारी नहुने कुरै भएन। मुलधारका मिडियाकर्मी र युटुबर त फिल्डमा हुने नै भए।

तर, भृकुटीमण्डपमा कार्यक्रम चलिरहँदा तीनकुनेमा भने ‘अत्याचार’ भयो। आयोजक र प्रहरी दुबैले त्यहाँ शक्ति देखाए। तर, क्षती भने जन र धन दुबै जनताको भयो। निहत्था २ जनाको ज्यान गयो। २० जनालाई गोली लाग्यो। घर,गाडी र निजि तथा सार्वजनिक सम्पत्तिमा तोडफोड,आगजनी र लुटपाट पनि भयो।

अर्थात तीनकुनेमा हुनुसम्म भयो। सरकारले अहिलेसम्म ५० भन्दा बढीलाई हिरासतमा राखेको छ। कयौं घाइते अस्पतालको बेडमा छन् ।

यति ठूलो बितण्डा मच्चाउने आयोजकको अत्तोपत्तो छैन। आयोजक भनिएका धवलशसेर राणा हिरासतमा छन्, दुर्गा प्रसाईं फरार छन् । नवराज सुवेदी नजरबन्दमा छन् । ज्ञानेन्द्र शाह हाइसन्चो मानेर निर्मल निवासमा बसिरहेका छन् । अनि सरकार चाहिँ यी सबै कुराबाट बेखबर छ, सरकारले केही देखेकै छैन।सरकारलाई कहिँ दु:खेकै छैन र सरकारले कुनै जिम्मेवारीबोध गरेकै छैन ।

नागरिक मारिएका छन् । सम्पत्तिमा क्षति पुर्‍याइएको छ। आन्दोलनको आयोजना गर्ने ठेक्का लिएका राजावादीहरु कार्यक्रमको जिम्मेवारी लिनबाट पन्छिन खोज्दैछन् । ठेक्का दिएको ब्यक्ति भनिएका ज्ञानेन्द्र शाहलाई कुनै पछुतो छैन। अनि सरकार मस्त निद्रामा छ।

यो अवस्थामा जनताले न्यायको लागी कहाँ जाने ? को बाट आश गर्ने ? के सरकारले अहिलेसम्म केही कदम चाल्यो त ? यदि सरकारले चाहेको भए दुर्गा प्रसाईं पक्राउ पर्ने थिएनन् होला ? के सरकारले चाहेमा ज्ञानेन्द्र शाहलाई बयान लिएर सत्य के हो भनेर सोध्न सक्दैनथ्यो ? राज्य यसरी निदाउन मिल्छ ? यसबारे अब नागरिकले प्रश्न गर्नैपर्छ । के तीनकुनेमा सरकार हराएको हो ?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...