फेसबुकमा ह्यासट्याग ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान

काठमाडौं । पूर्वराजपरिवार सदस्य ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्नुपर्ने माग सहित सामाजिक संजाल फेसबुकमा ह्यासट्याग ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान चलिरहेको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको तोडफोड,आगजनी र पत्रकार हत्याको बिरोध हुनथालेको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा पनि ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान चलेको हो।

सामाजिक संजाल प्रयोगकर्ताले यो अभियान चलाउँदै ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न समेत माग गरिरहेका छन् । सामाजिक संजालमा अहिले ह्यासट्याग ‘एरेष्ट ज्ञानेन्द्र’ व्यापक प्रयोगमा आइरहेको छ। यसले राजावादी पार्टी राप्रपालाई उत्तेजित बनाएको छ। राप्रपाको बैठक पछि शनिबार अध्यक्ष राजेन्द्र लिङ्देनले ‘एरेस्ट ज्ञानेन्द्र’ भनेर चलाइएको क्याम्पेनिङ बारे चुनौती दिदै ज्ञानेन्द्रलाई छोएर देखाउन चेतावनी दिएका छन् ।

यसरी पूर्वराजा शाहलाई गिरफ्तारको माग गर्नेमा राजनीतिक दलका भ्रातृसंगठनका नेता, अभियन्तालगायत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । यसमा गणतन्त्र पक्षधर राजनीतिक दलमा आवद्ध चिनिएकै नेताकार्यकर्ता पनि छन् ।

गत शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसका फिल्ड कमान्डर दुर्गा प्रसाईं हाल फरार छन् । उनको राहदानी ‘ब्ल्याकलिष्ट’ मा राखेर नै खोजी भैरहेको छ। त्यसैगरी आन्दोलन संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा छन् । ज्ञानेन्द्र शाह पनि अघोषित नजरबन्द जस्तै छन् । उनको पनि राहदानी रोक्का गर्ने तयारीमा सरकार पुगेको छ।

राजावादीको प्रदर्शनकाक्रममा हिंसा भड्काउने प्रसाईं सहित राप्रपाका केही नेता पनि आरोपित देखिएका छन् । त्यसदिनको हिंसामा सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भयो भने ११० जना घाइते र निजी भवन, पार्टी कार्यालय,संचारगृह,गाडी तोडफोडसँगै आगजनी पनि गरियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय