राजावादीको प्रदर्शन हिंसात्मक : २ को मृत्यु, तोडफोड, लुटपाट र आगजनी सबै भए

काठमाडौं । काठमाडौंको तिनकुने क्षेत्रमा प्रदर्शन गर्ने अनुमति पाएको राजावादी शक्तिले आफ्नो कार्यक्रमलाई हिंसात्मक बनाउदा एक जना संचारकर्मी सहित २ जनाको मृत्यु भएको छ।

तिनकुनेमा भएको आगजनीमा परि एभिन्युज टेलिभिजनमा आवद्ध पत्रकार सुरेश रजकको मृत्यु भएको छ। आन्दोलनको रिपोर्टिङ गरिरहेका रजक आगलागी पछि सम्पर्कमा थिएनन् । बेलुकी उनको खोजी हुँदै जादा आगलागीमा परेको आशंका गरिएको थियो। त्यसपछि त्यै घरमा एक जनाको शव डढेको अवस्थामा भेटियो । उक्त शव उनै पत्रकार रजकको भएको पुष्टि भएको छ।

त्यसैगरी आन्दोलनकारी र प्रहरी बिचको झडपमा घाइते भएका किर्तिपुरका सविन महर्जनको पनि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

तिनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा गोली लागेर घाइते भएका महर्जनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। सो घटनामा १५ जना सुरक्षाकर्मी घाइते छन् । सुरक्षाकर्मीको एउटा बन्दुक पनि आन्दोलनकारीले खोसेका छन् । त्यसैक्रममा अन्य केही आन्दोलनकारी पनि घाइते छन् ।

निजि र सार्बजनिक सम्पत्तिमा पुर्‍याइएको क्षतीको अझै तथ्यांक आइसकेको छैन। कम्तीमा १६ वटा सवारीसाधनमा आगजनी,७ वटा घरमा तोडफोड र आगजनी,भाटभटेनी सुपरमार्केटमा लुटपाट र एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा पनि ढुङ्गा प्रहार भएको छ भने रास्वपा नेता सन्तोष परियारको गाडी तोडफोड भएको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलन हिंसात्मक बन्ने लक्षण पाएपछि राजावादी भित्रको पनि राप्रपा नेताहरू कार्यक्रममा गएनन् । यद्यपि ज्ञानेन्द्र शाहको बिश्वासपात्र मानिएका नवराज सुवेदी सहित रविन्द्र मिश्र,धवलशमसेर राणा भने कार्यक्रममा थिए । झडप हुनथालेपछि कमान्डर भनिएका दुर्गा प्रसाईं भागे भने अन्य नेता पनि लाखापाखा लागे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय