कुलमान हटाउने कुरामा शेखर, गगन र विश्वप्रकाशको असहमति
माओवादी र राप्रपा पनि विरोधमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले असहमति जनाउँदै विरोध गरेका छन्।
मन्त्रिपरिषदको सोमबार साँझको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। त्यस लगत्तै कांग्रेस नेता डा.शेखर कोइरालाले बिरोध जनाएका छन् । उनले सरकारको यो निर्णयलाई “विनाशकाले बिपरित बुद्धि” भनेका छन् ।
उनले कुशासनको निरन्तरताको अर्को कडी भन्दै लेखेका छन् -‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।’
त्यसलगत्तै कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जालमा लेख्दै कुलमान हटाउने निर्णय पार्टीको आधिकारिक निर्णय नभएको र छलफल समेत नभएको भन्दै विरोध गरेका छन्।
त्यसो त मन्त्रीपरिषद बैठक मै ऊर्जामन्त्री दीपक खडकाले लगेको प्रस्तावमा गृहमन्त्री रमेश लेखकले असहमति जनाएका थिए। अर्थमन्त्री बिष्णु पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले पनि कुलमान हटाउन नहुने जिकिर गरेको स्रोतको भनाइ छ। यद्यपि ऊर्जामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ओके’ गरेपछि कुलमानलाई हटाएर शाक्यलाई कार्यकारी नियुक्त गरिएको हो।
सरकारले निर्णय गरेपछि कांग्रेस महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘आमनागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?’
त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो। कारबाही योग्य केही भए पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समायोचित बिल्कुलै भएन। यसप्रति खुला र प्रस्ट रूपमा विमति छ।’
कांग्रेस भित्र कुलमान हटाउने कुरामा प्रभावसाली नेताकै बिरोध भएपनी नेकपा एमालेका भने कुनैपनी नेताकार्यकर्ताले केही बोलेका छैनन् । एमाले नेता महेश बस्नेतले चाहिँ फेसबुकमा हितेन्द्रदेव शाक्यलाई न्याय मिलेको भनेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमानलाई हटाएको बिरोधमा बत्ती निभाएर मैनबत्ती बालेर साङ्केतिक रुपमा असन्तुष्टि देखाएका छन् । उता माओवादी केन्द्र र राप्रपाका नेताले घिसिङलाई हटाउनु प्रतिशोध हो भनेका छन् ।२०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङको पदावधि २०८२ साउन २४ सम्मका लागि थियो।

