२ सय ३६ ह्याचरी उद्योग बन्द

चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने २३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए ।

अहिले यो संख्या १२० मा झरेको छ । १४ वटा रहेको लेयर्स ह्याचरी घटेर ६ वटामा झरेको छ ।

एक सातामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले ३० लाख उत्पादन हुने गरेको उनले जानकारी दिए ।

लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ । पोखरेलका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५ देखि ६० सम्म पर्न जान्छ । लेयर्सको मूल्य रु १२० देखि १२५ पर्छ ।

नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि दुई वर्षसम्म चल्लाको लागत मूल्य नपाउँदा ती ह्याचरी बन्द भएका हुन् । लामो समयपछि अहिले ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० देखि ७५ मा बिक्री हुने गरेको छ । लेयर्स चल्ला रु १३० देखि १५० मा बिक्री हुँदै आएको छ ।

उनले भने, “लामो समय चल्लाले मूल्य नपाउँदा अधिकांश ह्याचरी बन्द भए ।”

चलेकाहरू पनि बैंकको ऋण थपेर धानिएको उनको भनाइ छ । चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको व्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायत कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित भएका हुन् ।

सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी उद्योग बन्द हुँदै गर्दा फार्मसमेत बन्द हुन्छन् । यसबाट एउटै ह्याचरीको करोडौँ नोक्सान हुन्छ । उनले भने, “एउटा ह्याचरी उद्योग सञ्चालन गर्न कम्तीमा रु ४० करोडभन्दा बढी लगानी हुन्छ ।” चार–पाँच बिघा जमिन कम्तीमा आवश्यक पर्ने भन्दै उनले जग्गाको मूल्य बढ्दै जाँदा लागत मूल्यसमेत बढेको बताए ।

नेपालमा ह्याचरी उद्योगले अधिकांश प्यारेन्ट (माउ) विदेशबाट ल्याउने गर्छन् । पौडेलका अनुसार त्यस्तो एउटा चल्लाको मूल्य रु सात सय पर्न आउँछ । देशभर थोरै ब्रोइलर कुखुरा पाल्ने किसान धेरै छन् । पछिल्लो समय खपत घटेसँगै मासुले मूल्य नपाउँदा धेरै विस्थापित भएका हुन् । रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...