जोरपाटी-सुन्दरीजल सडक खण्डका जिर्ण र साँघुरा पुल छिटो बनोस्-चालिसे

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य एवं अर्थ समिति सभापति सन्तोष चालिसेले जोरपाटी-सुन्दरीजल सडक खण्डमा छिटो पुल बन्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका सांसद चालिसेले सो सडक खण्डमा पर्ने ४ वटा पुलको दूरावस्थाबारे बुधबार सदन र सरकारको ध्यानाकर्षण समेत गराए । जनताका समस्यालाई सधैं टड्कारो रुपमा उठाउदै आएका र सोही क्षेत्रमा पर्ने गोकर्णेश्वर नगरपालिकाको प्रथम मेयर समेत भैसकेका सांसद् चालिसेले जोरपाटी-सुन्दरीजल सडक खण्डमा भएका जीर्ण र साँघुरा पुलका बारेमा बिस्तृत विवरण सहित सदनमा ध्यानाकर्षण गराएका हुन् ।
उनले काठमाडौंको पुर्वी क्षेत्र हुँदै छिमेकी जिल्ला सिन्धुपाल्चोक र नुवाकोट सम्म जान सकिने यस सडकमा हाल भएका १४/१४ फिटका चारवटा पुलको पुर्ननिर्माणका पटक-पटक अर्थ मन्त्रालय धाउँदा पनि पर्याप्त बजेट निकासा नभएको भन्दै आक्रोश व्यक्त गरे।’सधैं एउटा-एउटा कुरा गरेर भुलाउने काम मात्रै भयो’ उनले भने-‘जनतालाई सरकारको आश्वासन होइन,काम चाहिन्छ।’
चालिसेले डिपिआरको काम थालनी गर्न भन्दै एउटा पुललाई पाँच लाखको दरले रकम निकासा भए पनि त्यसपछि थप बजेट नपरेपछि काम अलपत्र भएको गुनासो गरे।‘गत साल बजेट माग गरियो । बजेट पाँच-पाँच लाख परे छ, चारैवटा पुललाई । यो के हो भनेर सोधनी हुँदा, डीपीआरका लागि भन्ने भयो,’ उनले भने, ‘डीपीआर बनाएर तीन महिनादेखि यसमा लाग्दालाग्दा बल्ल अर्थ मन्त्रालय पुग्यो । अहिले आएर बजेट सुनिश्चितता छैन भन्ने जवाफ आयो ।’
उनले सो क्षेत्र धार्मिक एवं पर्यटकीय क्षेत्र पनि भएको हुँदा यो सडकमा सधैंजसो सवारीसाधनको भिडभाड हुने र त्यसमा पनि साँघुरा पुलले गर्दा अफिस, स्कुल जानेहरु घण्टौं जाममा बस्नुपर्ने बाध्यता रहेको भन्दै छिटो सुनुवाइ हुनुपर्नेमा जोड दिए।

