लोकतन्त्रको विकल्प राजतन्त्र होइन-कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा,नेपाल का अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै राजा सहितको लोकतन्त्रको वकालत गरेका छन् ।
कट्टर राजावादी भनिएका थापाको यो अभिव्यक्तिले राजा ल्याउने पुर्व पन्चहरुभित्रै पनि एकमत नरहेको प्रष्ट हुन्छ। थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् -‘लोकतन्त्रको विकल्प राजतन्त्र होईन,हुनसक्दैन।त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन,राजासहितको लोकतन्त्र खोजेको हो।’
राप्रपाको गत महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पुर्व राजा ज्ञानेन्द्र शाहसँग सम्बन्ध चिसिएका थापाले पुनः सम्बन्ध सुधार्न प्रयास गरेपनि सफल नभएको जानकारहरु बताउँछन् । त्यसैले पनि थापाले राजा होइन राजसंस्थाको वकालत गरिरहेका छन् । अर्थात उनी ज्ञानेन्द्रलाई राजा बनाउने भन्दा पनि राजसंस्था भित्र हृदयेन्द्र वा हिमानी शाहलाई लोकतान्त्रिक प्रणाली भित्रको नेतृत्वकर्ता बनाउन चाहन्छन् ।
थापाले अगाडी लेखेका छन् -‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र,सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो।मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो।राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन।’

