जसले आफ्नै पसलमा आगो लगाए…

पोखरा । तीन महिनाभित्र पसल संचालन, बिमा र आगो लगाउने सबै काम आफैंले गरी झुठा विवरण पेश गरि बिमा रकम हत्याउन खोज्ने एक ब्यक्ति पक्राउ परेका छन् ।

ती ब्यक्तिले पुसमा पसल खोलेर माघमा पसलको बिमा गरि फागुन १६ मा आफ्नै पसलमा आगो लगाएका थिए। त्यसपछि फागुन १९ मा बिमा रकम दाबी गर्दै निवेदन पनि दिए। त्यसको एक सातामै उनि कास्की प्रहरीको फन्दामा परे।

पक्राउ पर्नेमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा-२७ तालचोक बस्ने बस्ने २८ वर्षीय रमेश शर्मा लोहार रहेका छन् । लोहारले पोखरा महानगरपालिका- ८ न्युरोडमा शर्मा आईटी हब सञ्चालन गर्दै आएका थिए ।

उनले दुई जना कामदार राखेर पसल संचालन गरेका थिए तर,आगो लाग्दा कामदार थिएनन् । त्यति मात्रै होइन दुई दिन सम्म पसल बन्द राखेपछि तेस्रो दिन आगो लागेको थियो । मासिक ३५ हजार भाडा तिरेर सञ्चालन गरिएको आईटी हबमा फागुन १६ गते साँझ सात बजेतिर आगलागी भएको हो । आगलागीबाट ९४ लाखको क्षति भएको भन्दै लोहारले वडा प्रहरी कार्यालय बैदाममा त्यसको भोलिपल्टै निवेदन दिएका थिए । उनले आफ्नो पसलको एक करोडबराबरको बिमा पनि गरेका थिए ।

घटनाको तीन दिनपछि लोहारले शिखर इन्स्योरेन्स कम्पनीमा मोबाइल चार्जमा राखेर वासरुम गई फर्किंदा केही पड्किएको आवाज आई हेर्दा आगलागी भएको भन्ने व्यहोरासहित बिमा रकम दाबी गरे । घटना बारे जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्दा आगो लगाउने व्यक्ति स्वयं लोहार नै रहेको पत्ता लगायो।

घटनास्थलको प्रकृतिको अध्ययन, घटनास्थलबाट म्यानुअल्ली र डिजिटल्ली दुवै प्रकारबाट आगलागी भएको घटनाबारे विभिन्न सबुद प्रमाण संकलन गरेको, लोहारको तालचोकस्थित पसलको पनि अनुसन्धानपछि प्रहरीले बिमा रकमकै लोभमा लोहार आफैँले पसलमा आगो लगाएको निष्कर्षमा पुगेको हो ।

पक्राउ परेका लोहारलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

लोहारको तालचोकमा पनि शर्मा आईटी सोलुसन नामको पसल पाँच वर्षदेखि सञ्चालनमा रहेको र त्यहाँ ६ जना कामदार रहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...