यो देश सम्भावनाको कुञ्ज हो : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पुर्व महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.शशाङ्क कोइरालाले नेपाल असङ्ख्य सम्भावना भएको देश हुनाले युवाले यहीँ बसेर केही न केही उद्यम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय भेलालाई पोखरामा सम्बोधन गर्दै डा.कोइरालाले भने-‘यो देश सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्छ।देशको समृद्धिमा युवाले प्रमुख भूमिका निर्वाह गर्ने बेला आएको छ।’

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको लागि तयारी गरिरहेका डा.कोइरालाले आफ्ना बुबा स्व.बीपी कोइरालाको स्मरण गर्दै भने-‘म सानो हुँदा बुबा बीपी कोइरालाले भन्नुहुन्थ्यो-म धेरै राष्ट्र घुमेँ, तर संसारमा सबैभन्दा सुन्दर देश नेपाल लाग्यो, तिमी नेपालमा नै बस्नु’ पछि मलाई विदेश जाने अवसर मिल्यो, तलब पनि मनग्य थियो तर बुबाले भन्नुभएको कुराले बिझायो र विदेश पुगेर पनि म स्वदेश नै फर्किएँ।’

यसैगरी उनले विदेशबाट फर्केका युवाले त्यहाँ सिकेका सीप र अनुभवलाई सदुपयोग गरी देश भित्र स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा समेत जोड दिए । ‘मानिसको जीवन भनेको प्रयास र सङ्घर्षमय हुन्छ। निरन्तरको प्रयासले स्वदेशमा नै अवसर सृजना गर्न सकिन्छ’ उनले भने।

डा.कोइरालाले कतिपय मानिसले असफलताबाट सफलता हासिल गरेका उदाहरणहरू समाजमा रहेका भन्दै आफूले गरेका काममा असफलतातर्फ गए पनि निरन्तरको प्रयासपछि सफलता मिल्ने बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले रोजगारीका लागि विदेश गएर स्वदेश फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीपबाट उद्यमशीलता गरेर आफ्नो मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...