अपराध : प्रेमीको हत्या गरी श्रीमानलाई साउदी पठाएपछि…

काठमाडौं । मानिसको अपराध गर्ने तरिका पनि पत्याउनै मुस्किल हुने खालका देखिन थालेका छन् । धनुषाकी एक महिलाले कतारमा रहेको आफ्नो प्रेमीलाई नेपाल बोलाएर हत्या गरि श्रीमानलाई साउदी पठाएको डरलाग्दो घटना सार्बजनिक भएको छ।
उनले २ बर्षदेखी रिलेसनमा रहेको ३३ बर्षिय प्रेमीलाई प्रेमीको श्रीमती बिरामी भएको भन्दै झुक्याएर नेपाल बोलाएपछी आफ्नो श्रीमानसँग मिलेर नै हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका-२, पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव उनै प्रेमी सहिद अन्सारीको भएको पुष्टि भएपछि घटनाको रहस्य खुलेको हो। घटनामा प्रेमीका अनिता यादव र उनका श्रीमान राजकिशोर यादवको संलग्नता पुष्टि भएको छ। घटना लगत्तै फरार रहेका राजकिशोर हाल साउदी पुगिसकेको पनि पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।
शव भेटिएपछि प्रहरीले सबैतिरबाट अनुसन्धान गर्दै जादा वैदेशिक रोजगारीको लागि कतारमा रहेका अन्सारी र अनिताबीच प्रेम सम्बन्ध रहेको र हत्यामा प्रेमिका र उनका श्रीमानको संलग्नता देखिएको प्रहरी अधिकृतको भनाइ छ।
२०८१ मंसिर २७ गते अनिता र उनका श्रीमान्ले अन्सारीलाई बन्चरो प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।हत्यापछि अन्सारीको शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको अभियुक्तको बयान छ। उनको शव माघ १० गते मात्रै पहिचान भएको थियो।
हाल अनितालाई पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्यापछि साउदी अरब पुगेकोले उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

