गोकर्णेश्वरलाई दुर्व्यसनी मुक्त बनाउदैछौं -मेयर रिसाल

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसालले आफ्नो नगरलाई लागू औषध दुर्व्यसनि मुक्त नगर बनाउने अभियान सुरु गरेका छन् ।
नगरपालिकाकै पहलमा नगरभित्र रहेर लागू औषध दुर्व्यसनी विरुद्द सचेतना कार्यक्रम गर्दै आएका संस्थासँग समन्वय र सहकार्य गर्दै यो अभियानलाई अगाडि बढाइने मेयर रिसालले बताए।
यसै सन्दर्भमा सोमबार पनि यहाँका विभिन्न सरोकारवाला संस्थाका संचालक एवं प्रतिनिधिसँग मेयर रिसालले छलफल गरे। आगामी दिनमा घरदेखी टोल समाज र निजि तथा सामुदायिक विद्यालयमा पनि लागू पदार्थ दुर्व्यसन विरुद्धका सचेतना अभियान पुर्याउन प्रतिबद्ध रहेको उनको भनाइ थियो।

लागू पदार्थ दुर्व्यसनी विरुद्दको सचेतनामूलक कार्यक्रम संचालन गर्दा आइपर्ने जुनसुकै समस्यालाई नगरपालिका मार्फत सहजीकरण गरिने भन्दै उनले कुलतमा फसेका र उद्दार गरि सहज जीवन जिउनसक्ने बनाउन उपचारका लागि डाक्टर,गाडी,परामर्शदाता सहित जे कुराको आवश्यकता परेपनी आफुले हेर्ने बताए। ‘लागू औषध व्यक्ति, परिवार, समाज र राष्ट्र विरुद्धको अपराध हो’ उनले भने-,’यसको सेवन तथा कारोवारले क्षणिक खुसी मिलेता पनि व्यक्तिगत तथा सामाजिक जीवन ध्वस्त हुन्छ । त्यसैले कुलतमा फसेकाको उद्दार सहित कुलतमा फस्नै नदिनको लागी पनि सचेतना सहित सहजीकरण गरिने छ।’
लागू औषध वितरण,ओसारपसार र प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नगरपालिकाले चाडै आवश्यक कार्यक्रम ल्याउने पनि मेयर रिसालले बताए। जसको लागि न्यूनीकरण र नियमन गर्न छुट्टै लागू औषध र मादक पदार्थ नियन्त्रण समिती नै बनाएर अघि बढिएको र यो देशभरका ७५३ स्थानिय तह मध्य गोकर्णेश्वर नगरपालिका पहिलो रहेको पनि उनले सुनाए।

गोकर्णेश्वर नगरपालिकाको लागू औषध तथा मादक पदार्थ नियन्त्रण समितिका संयोजक शिव श्रेष्ठ (शिबु) को संयोजन र सभापतित्वमा भएको छलफलमा मेयर रिसालले गोकर्णेश्वर नगरपालिकालाई दुर्व्यसनिमुक्त नगर बनाउने र त्यसको शन्देश देशभरका नगरमा पुर्याएर नमूना नगरपालिकाको रुपमा चिनाउने प्रतिबद्धता दोहोर्याए ।’गोकर्णेश्वरमा लागू औषध दुर्ब्यशनलाई न्यूनीकरण मात्रै होइन निमिट्यान्न पारिनेछ’ उनले भने-,’कसैले लागू औषध सेवन गर्यो तर,अहिले म सुध्रिन चाहन्छु भन्न किन नपाउने ? भोलिको युवालाई दक्ष बनाउने हाम्रो दायित्व हो। कुलतमा लागेर बाटो बिराएकालाई पुनः सामाजिक जिवनमा फर्काउन सक्नु गर्वको कुरा हो।’
उनले यसरी फर्केर केही गर्छु भन्नेलाई अवसर सहित विभिन्न तालिम दिएर दक्ष बनाउने आफ्नो योजना रहेको रिसालले सुनाए।
फसिसकेकालाई सुधार्ने र बिग्रन नदिनपनि अर्को क्याम्पेनिङ गर्न पनि आफू लागिपर्ने उनले बताए।

संयोजक शिव श्रेष्ठ ले उपचार तथा पुनर्स्थापना केन्द्रमा रहेकाको वर्गीकरण,स्क्रीनिङ गरि उनिहरुको उपचार गराउन आवश्यक भएकोमा जोड दिए। त्यसैगरी नगरभित्रका पुनःस्थापना केन्द्र र प्रयोगकर्ताको पनि अनुगमन र निगरानीले सुखद परिणाम आउने भन्दै श्रेष्ठले कामको आधारमा मुल्यांकन गरि नगरपालिकाले हरेक वर्ष उत्कृष्ट पुनर्स्थापना केन्द्रलाई सम्मान र पुरस्कृत गर्नुपर्ने पनि बताए।

