जलनमा परेर घाइते भएका अर्थमन्त्री र मेयर भेट्न राष्ट्रपति पुगे अस्पताल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् । बर्न अस्पतालको सघन उपचारकक्ष (आईसीयू)मा अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचाररत छन् । शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले स्वास्थ्योपचार र उपचार प्रक्रियाबारे जानकारी दिएका थिए ।
पौडेल र आचार्यलाई ४८ घण्टासम्म कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार सुरु अघि बढाइएको छ।

