डा.शशांकले रोपे बिपी कोइरालाको सम्झनामा रुद्राक्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले काठमाडौं कागेश्वरी नगरपालिकामा रहेको असहाय गाईबाच्छा संरक्षण अभियानको अवलोकन गरेका छन् ।

पार्टीका केही नेता र कागेश्वरीका मेयर उपेन्द्र कार्की सहित त्यहाँ पुगेका डा. कोइरालाले सो केन्द्रको परिसरमा वीपी कोइरालाका नाममा रुद्राक्षको बिरुवा पनि रोपे। त्यसैगरी त्यहाँ संरक्षण गरिएका गाईलाई पिठो पनि खुवाए र केन्द्रलाई ५० हजार बराबरको पिठो हस्तान्तरण गरे।

एक सय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा २७१ वटा गाई तथा बाच्छा छन् । सडकमा बेवारिसे छोडिएका गाईबाछालाई केन्द्रले विगत ७ वर्षदेखि संरक्षण गर्दै आएको छ ।

सो क्रममा कोइरालाले समाजसेवा र मानवीय काम गर्न मनैबाट लगाव हुनुपर्ने बताए। उनले समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने भन्दै राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेकोमा प्रशंसा गरे । यसमा आफूले पनि सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।

कार्यक्रममा पूर्वमन्त्री दीपक गिरीले पनि गाई संरक्षणमा संस्थाको अभियानको खुलेर प्रशंसा गरे । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरेको तर केन्द्र सरकारले पनि स्वामित्व लिनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दीपक भट्टराई, कांग्रेसका महासमिति सदस्य एवं युवा नेता हरिबोल भण्डारी उपस्थित थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय