केपी ओलीसँग प्रचण्ड-माधव किन रुष्ट ?

काठमाडौं । भनिन्छ राजनीतिमा कोहीपनि स्थायी शत्रु र मित्र हुँदैन । हुनपनी राजनीति गर्नेले कसैप्रती आग्रह, पुर्वाग्रह वा दूराग्रह राख्दछ भने त्यो क्षणिक मात्रै हुन्छ। नेपाली राजनीतिमा पनि यस्ता थुप्रै उदाहरणका साक्षी जिउँदा नेता नै छन् ।

यति हुँदाहुँदै पनि नेपाली कम्युनिस्ट आन्दोलनमा सँगै सहकार्य गरेका नेताहरू नै अहिले एक अर्कालाई तुच्छ शब्दमा गाली गर्न र खुइल्याउन लागिपरेका छन् । कहिल्यै मिल्न र सहकार्य गर्नै पर्दैन जस्तो गरि तीन ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरु आरोपप्रत्यारोपमा छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवं तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेपालको अनुहार नै हेर्दिन,बोल्न परे मुख कुल्ला गर्छु र स्वास्थलाभको कामना गर्दा ‘तपाईंले मरोस् भन्ने चाहनुहुन्छ किन स्वास्थलाभ चाहियो’ जस्ता शब्दवाण प्रहार गरेको त सुनिएको थियो। त्यसमाथि पार्टी नै फुटाएर गएपछि ओली नरम हुने कुरै भएन। उनले अहिलेपनी ठाउँ पाएपछि माधव नेपाललाई पेलेरै कुरा गर्छन् । नेपाल प्रती अध्यक्ष ओली मात्रै होइन एमालेका अन्य नेताको व्यबहार पनि त्यस्तै रुखो छ।

उता नेपाल पनि के कम । उनले पनि बेला बेला ओलीका विरुद्ध फायर खोल्ने गरेका छन् । पछिल्लोपटक शनिबार त प्रधानमन्त्री ओलीलाई नेपालले ‘ठग’ समेत भन्न भ्याए । उनले ओली सरकार जनताप्रति गम्भीर नभएको आरोप लगाउदै रातारात अध्यादेश ल्याएकोमा विरोध पनि गरे । उनले ओलीलाई दुई कम्युनिस्ट पार्टीहरू मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको आरोप लगाए । यतिमा मात्रै उनको चित्त बुझेन क्यारे ! अनि ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी समेत गरे ।

ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभइ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित रहेको आरोप लगाउँदै उनले थपे, ‘ओली जस्ता ठग र एमालेसँग एकता गर्ने कुनै सम्भावना पनि छैन।’

नेता नेपालले ठग भन्नु अघि पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई ‘फटाहा’ को संज्ञा दिएका थिए। बेला बेला ओली र प्रचण्डको पनि नोकझोक चलिरहेको हुन्छ । ओलीले प्रचण्डलाई लगाउन बाँकी आरोप सायद छैन होला ! उनले सबै भनिसके। त्यस्तै प्रचण्डले पनि ओलीलाई बेइमान,धोखेबाज हुँदै फटाहा सम्म भनिसके।

देशको सर्बोच्च कार्यकारी पदमा पुगेका ओली,प्रचण्ड र नेपालको यो घोचपेच,आरोपप्रत्यारोप र लान्छना लगाउनेक्रमसँगै सत्ता र शक्तिको उन्माद पनि देखिन्छ। उनीहरु कि सत्ता प्राप्त हुँदाको उन्मादमा कि सत्ता गुमेको छट्पटीमा यस्ता शब्दवाण निकाल्छन् । राजनीतिमा इमानदारीता वा सभ्य भाषाको प्रयोग र एकअर्को बिच हार्दिकता नहुदा सम्म जनताले दु:ख पाउछन् । त्यसैले नेताले जस्तो बोल्यो कार्यकर्ताले त्यै सिक्ने हो । आज जो कार्यकर्ता छ भोलि त्यै नेता हुने हो । अनि कस्तो नेतृत्व र कुन संस्कार हामी सिकाउदै छौं ?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय