विराटनगरदेखि धरानसम्म पोडवे !

काठमाडौं ।मोरङको विराटनगर स्थित रानी भन्सारदेखि सुनसरीको धरानसम्म करिब ७ किलोमिटर क्षेत्रमा पोडवे ( तारमा आधारित यातायात) निर्माण हुने भएको छ ।

झट्ट हेर्दा केवलकार जस्तो देखिने पोडवे स्ट्रीङ टेक्नोलोजीमा आधारित तारमा गुड्ने माइक्रो रेल प्रविधि हो । सजिलो बुझ्ने भाषामा पोडवे भनेको रेल प्रविधि पनि हो । कोशी प्रदेश लगानी प्राधिकरण तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अनुमतिमा उक्त क्षेत्रमा पहिलो चरणको काम सुरु हुन लागेको छ।

नेपाल पोडवे कम्पनीको लगानी तथा प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक उक्त क्षेत्रमा पोडवे निर्माणको काम सुरु हुन लागेको हो । मुख्यमन्त्री कार्यालयले पोडवे का लागि आवश्यक डीपीआरको तयारी थालेको पोडवे नेपालका उपाध्यक्ष निल भट्टाराईले जानकारी दिए। कम्पनीले आवश्यक शुल्क समेत बुझाई सकेकाले डीआरको स्वीकृति छिट्टै पाउनेमा आशावादी रहेको उनको भनाइ छ। मन्त्रालयले स्वीकृति दिएको एक वर्षभित्रमा ७ किलोमिटर क्षेत्रमा निर्माण गर्ने पोडवेको डीपीआर तयार पारिसक्ने पनि उनले बताए ।

कोसी प्रदेशअन्तर्गत जोगमनी-धरान-चतराखण्ड हुँदै पूर्व जोड्नेगरी ८३ किलोमिटरमा उक्त प्रविधि विस्तार गर्न सकिने गरी अध्ययन गरिसकेको छ । पहिलो चरणमा ७ किलोमिटर क्षेत्रमा मात्रै डीपीआर निर्माणको तयारी थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंसिर ११ गते एक पत्र पठाउँदै पोडवे निर्माणका लागि डीपीआरमा समन्वय गर्न आग्रह गरेको थियो ।

‘रानी विराटनगर धरान सडक खण्ड’ को मिडियनको जग्गा प्रयोग गरी पोडवे /मोनो रेल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल पोड वे कम्पनीलाई अनुमति दिइएको भन्दै पत्राचार गरेको थियो ।

मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई सडकमा पछि कुनै असर पर्ने भएमा सोही बखत छुट्टै निर्णय हुने गरी पूर्व सम्भाव्यता अध्ययन गर्ने सहमति दिइएको जनाएको थियो । मंसिर ६ गते मन्त्रिस्तरीय निर्णय भएको भन्दै सम्भाव्यत्ता अध्ययनका लागिसहजीकरण गरिदिन मन्त्रायलले मुख्यमन्त्री कायालयलाई पत्राचार गरेको थियो ।

कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले पोडवे निर्माणको तयारी थालिएको बताए । उनले निजी क्षेत्रको सहयोगमा पहिलो पटक ७ किलोमिटर क्षेत्रमा निर्माणका लागि तयारी थालिएको बताए ।‘जमादार ग्रुप अफ कम्पनी कम्पनी हेटौँडाले हामीलाई पोडवे निर्माणका लागि प्रस्ताव गरेको थियो । हामीले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धान तथा केन्द्र सरकारको सहयोगमा लगभग अन्तिम चरणमा पुगेका छौँ । अब बस्ने प्राधिकरण बोर्ड बैठकमा पेश हुन्छ’, उनले भने ।

उनले अब बस्ने बैठकमा डीपीआरका लागि प्रस्ताव पेश गर्ने तयारी प्राधिकरणको रहेको बताए । जमादार ग्रुप अफ कम्पनीका निर्देशक अमित अग्रवालले नेपाल पोडवे कम्पनीको प्राविधिक सहयोगमा कोशीमा पोडवे निर्माणको तयारी थालिएको बताए । उनले २५ करोड रुपैयाँ लगानीमा डीपीआर निर्माणका लागि अनुमति थालिएको भन्दै थप लगानीका लागि विदेशी कम्पनीसँग सहकार्य हुने बताए ।

‘हामीले अहिले २५ करोड रुपैयाँमा डीपीआर बनाउन कोशी प्रदेश सरकारसँग आग्रह गरेका छाैँ । उहाँहरुले पहिलो चरणको स्वीकृति पनि दिइसक्नुभयो । डीपीआर तयार भएपछि थप निर्माणका लागि हामीले विदेशी कम्पनीसँग सहयोग लिने हो । हामीलाई लगानी गर्न विदेशी कम्पनीहरु तयार छन्, जति छिटो हामीलाई सरकारले अनुमति दिनुहुन्छ, त्यति छिटो हामीले निर्माण गर्नेहो’, उनले भने ।

लगानी सम्मेलनमा पोडवे राखिने

कोशी प्रदेश सरकारले आगामी बैशाख तेस्रो साता गर्न लागेको लगानी सम्मेलनमा पोडवे लाई समेवेश गर्ने तयारी गरेको छ । प्रदेशमा कृषि, पर्यटन, उद्योगलाई पहिलो प्राथमिकतामा राखेर लगानी सम्मेलनको आन्तरिक गृहकार्य भैरहदा पोडवेलाई समेत समावेश गर्न लागिएको कोशी प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए ।

बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्नेगरी गृहकार्य भईरहेको शर्माको भनाई छ । प्रदेशमा कम्तिमा १ खर्ब रुपैयाँ लगानी जुटाउने गरी विभिन्न परियोजनाहरु छनोट गर्ने काम भईरहको उनले बताए ।

कोशीमा पहिलो पटक लगानी सम्मेलनको आयोजना गरिएको हो । कोशि प्रदेश लगानी प्राधिकरण मार्फत अहिले विभिन्न परियोजनाहरु छनोटको काम भईरहेको छ ।

प्रदेशको समग्र आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान र परिचालन गर्ने वातावरण सिर्जना गर्न लगानी सम्मेलन आयोजनाग गरिएको प्रमुख सचिव शर्माको भनाई छ ।

कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधि, सहरी फोहोर व्यवस्थापन र पर्यटन क्षेत्रका विभिन्न ५० भन्दा बढी ठुला आयोजनाहलाई लगानी सम्मेलनमा सो केशका रुपमा राखिने प्रदेश सरकारले जनाएको छ ।

कहाँकहाँ भयो अध्ययन ?

काठमाडौं पोडवे कम्पनीले गरेको अध्ययन प्रतिवेदनले उपत्यकाभित्रका विभिन्न नगरपालिकालाई जोड्ने गरी १०० किलोमिटरमा पोडवे विस्तार गर्न सकिने औल्याएको थियो । जसअनुसार काठमाडौं चक्रपथ, कौशलटार–नैकाप, बुढानीलकण्ठ–कीर्तिपुर, तारकेश्वर–टोखा हुँदै चक्रपथ, रत्नपार्क–बानेश्वर हुँदै चक्रपथ, गोकर्णेश्वर–बौद्ध–आरुबारी–दक्षिणढोका क्षेत्रसम्म उक्त प्रविधि विस्तार गर्न सकिन्छ ।

कम्पनीले उपत्यकाका तीन जिल्लालाई समेट्ने गरी करिडोरमा पोडवे निर्माण गर्न सकिने गरी लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो ।

त्यसैगरी उपत्यकाबाहिर कर्णाली प्रदेशअन्तर्गत सुर्खेत–हुम्ला (लिमी) सम्म २३१ किलोमिटर क्षेत्रमा पनि पोडवे सञ्चालन गर्न सकिने गरी पूर्वसम्भाव्यता अध्ययन कार्य गरिएको भट्टराईले बताए । कर्णाली प्रदेश सरकारलाई उक्त अध्ययन रिपोर्ट बुझाइसकिएको उनले बताए ।

त्यस्तै लुम्बिनी क्षेत्रमा करिब ६ किलोमिटरमा पोडवे प्रविधि विस्तार गर्न अध्ययन भइसकेको र अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको कम्पनीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय