फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले दु:ख पाउँछ-प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फटाहा र जाली-झेली मान्छे प्रधानमन्त्री भएमा देशले दुःख पाउने बताएका छन् ।
पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ले आफूले पछिल्लो समय १८ महिना सरकारको नेतृत्व गर्दा देशको लागि राम्रो रेकर्ड बनाएको भन्दै देशलाई सधैं पछि पार्ने भनेकै खराब ब्यक्तिको नेतृत्व र भ्रष्टाचार रहेको पनि बताए । भ्रष्टाचारमा नेता र कर्मचारी पनि मुछिने गरेको उनको टिप्पणी थियो ।
केही दलाल र विचौलियाहरुले जनताको रगत नराम्रोसँग चुसेको कुरा आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा नजिकबाट थाहा पाएको भन्दै उनले भूमाफियाहरुको विरुद्धपनि लडाईं छेड्न आवश्यक रहेको तर्क गरे।देशमा विद्यमान आर्थिक संकटको समाधानको लागि भ्रष्टाचारको विरुद्ध लड्नुपर्ने आवश्यकत्ता औंल्याउदै प्रचण्डले आफूले त्यसका लागि कदम चालेको बताए।
आफ्नो चीन भ्रमणको क्रममा ८ वटा पराम्परागत नाका खोल्ने सहमति भएको स्मरण गराउदै उनले भारतसँगमात्रै नभएर चीनसँगपनि विद्युत व्यापार गर्नुपर्छ भनेर त्रिदेशीय प्रसारण लाईनको सम्झौता गरेको दाबी गरे । आफू नेतृत्वको सरकारले राम्रो काम गर्दा भ्रष्टाचारी र विचौलियालाई सह्य नभएको उनको आरोप थियो ।
उनले अहिलेको सरकार संविधानविरोधी सरकार भएको कुरा दोहोर्याए । लोकतान्त्रिक मूल्य र मान्यताअनुसार सदनमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको इतिहास नभएको स्मरण गराउँदै नेपालमा भने कांग्रेस र एमाले मिलेर सरकार बनाएको दाहालको भनाई छ । भ्रष्टाचारीलाई संरक्षण गर्न र नेपाली जनतामाथि निरंकुशता लाद्नको लागि कांग्रेस र एमाले मिलेको प्रचण्डको आरोप छ ।
उनले केपी ओलीजस्तो जाली-झेली र फटाहा व्यक्ति प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? भन्दै प्रश्न गरे । उनले कांग्रेस र एमालेले देशको लागि काम गर्न खोजेको भए विनोद चौधरी र क्याप्टेन रामेश्वर थापाको घरमा रातको ११ बजेपछि बैठक किन बस्थे भनेर पनि प्रश्न गरे।
कांग्रेस र एमाले मिलेर राति १२ बजेपछि सहमति गरेको भन्दै त्यसलाई आफूले अप्राकृतिक भनेको दाहालको भनाई छ । उनले अहिलेको सरकारले दलाल र विचौलियाको पक्षमा काम गरेको आरोप समेत लगाए ।

