मूल्य नपाएपछि कृषकले लगाए तरकारीमा ट्रयाक्टर

चितवन । आफुले लगाएको तरकारी बिक्री नभएपछि चितवनका किसानले खेतमै ट्रयाक्टरले जोतेर नष्ट गरेका छन् ।
तरकारीले बजार मूल्य नपाउदा टिप्ने श्रमको ज्याला र ढुवानी भाडा पनि नउठ्ने भएपछि अर्को खेती गर्न किसानले तरकारी नष्ट गरेका हुन् । लाखौँ खर्च गरी उत्पादन गरेको तरकारीको मूल्य निकै कम मात्रै पाएपछि पश्चिम चितवनका दुई किसानले एकसाथ तरकारीखेतीमा ट्रयाक्टर लगाएका हुन् ।
खेतबारीमा लगाएको तरकारी उत्पादनले बजार भाउ नपाएपछि भरतपुर-२६, दिव्यनगरका नवदत्त अधिकारी र जयराम दराईले काउली, बन्दाकोभी र फर्सीमा ट्रयाक्टर लगाए । केही दिनअघि भरतपुर-२६ कै दीपक तिमल्सिनाले तीन बिघाको फर्सी र सोही स्थानकै वसन्त खतिवडाले दुई बिघामा लगाएको फर्सी नष्ट गरेका थिए । त्यसरी नै भरतपुर-२४, नयाँबस्तीमा रहेको केरूङ्गा ताजा तरकारी तथा फलफूल सहकारी संस्थामा आबद्ध किसानहरुले पनि खेतको तरकारी ट्रयाक्टरले जोतेर नष्ट गरेका थिए ।
कृषक नवदत्त अधिकारीले २१ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको फूलकोभी नष्ट गरेको बताए । तरकारी बारीबाट नउठेपछि र छिप्पन थालेपछि ट्रयाक्टर लगाएर नष्ट गरेको उनले बताए । बारीमा लगाएको बन्दाकोभी, फर्सीलगायत तरकारीको मूल्य नपाएको भन्दै २१ वर्षदेखि कृषि पेसामा संलग्न उनले सधैँ यस्तै भए तरकारीखेतीबाट अब हात धुनुपर्ने अवस्था आउने बताए ।
उनले चार बिघामा तरकारी लगाएकोमा केहीमा रहेको सिमी र अरुमा रहेको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेकोले कुहेर जान लागेको बताए । काउलीले बजार नपाएपछि ट्रयाक्टरले जोत्नुसिवाय केही उपाय नरहेको भन्दै उनले भने, ‘तरकारी बारीमै कुहिने अवस्था आउन थालेकाले जोत्न बाध्य भयौँ ।’
तरकारी नबिकेपछि करिब ३५ लाखबराबरको नोक्सान भएको उनले बताए । करिब बीस लाखको लगानीमा २१ कठ्ठामा काउली लगाएको तर पटकपटक बजार पठाउनका लागि ताकेता गर्दा पनि काउली बिक्री नहुने भएपछि जोत्न बाध्य भएको उनले बताए । तरकारीले भाउ पाउला र बिक्री होला भनेर कुरेर बस्दाबस्दै तरकारी बिक्री नभएको भन्दै उनले अब सो जग्गामा अन्य तरकारी लगाउने बताए ।
यसैगरी, जयराम दराईले छ कठ्ठामा लगाएको फर्सी नष्ट गरेका हुन् । बजारमा फूलकोभीको मूल्य प्रतिकेजी १० हाराहारी भए पनि धेरै उत्पादन भएपछि कृषकको तरकारी नउठेको हो । विगत २० वर्षदेखि निरन्तर तरकारीखेती गर्दै आएका शक्तिस्वर कृषि फार्म भरतपुर-२६, खत्रौलीका व्यावसायिक कृषक दीपक तिमल्सिनाले तीन बिघाको फर्सी नष्ट गरेका छन् । उनले पश्चिम चितवनमा ३५ कठ्ठा जमिनमा तरकारीखेती गर्दै आएका छन् ।

