नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन सुरु

काठमाडाैं । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन” सुरु भएको छ।
सम्मेलनको बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरे। सो अवसरमा सभापति देउवाले आयातीत अर्थतन्त्र भन्दा उत्पादनमुखी अर्थतन्त्र भएमा देश छिटो समृद्ध हुनेमा जोड दिए। उनले उत्पादनसँग जोडिएका व्यवसाय र उद्यमी व्यवसायीलाई सहज हुनेगरी कानुन निर्माण गर्न अफ्नो पार्टी लागिपरेको भन्दै स्वदेशी उत्पादन र सीपयुक्त जनशक्ति अहिलेको आवश्यकता भएको बताए।
पार्टी केन्द्रिय सदस्य समेत रहेकी विभाग प्रमुख उर्मिला थपलियाको अध्यक्षतामा सम्पन्न सम्मेलन उद्घाटन समारोहमा पार्टी उपसभापति पुर्णबहादुर खड्का,महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा,पुर्व महामन्त्री डा.शशांक कोइराला,उर्जामन्त्री दिपक खड्का,प्रबक्ता डा.प्रकाशशरण महत लगायत नेता सहभागी थिए।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा सुरु भएको सम्मेलन भोलि बिहिवार सम्म चल्नेछ। उद्यमशीलता र व्यवसाय प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको सम्मेलनले नयाँ व्यवसाय प्रारम्भ गरेका र गर्ने तयारीमा रहेका साना उद्यमी र व्यवसायीहरूलाई प्रोत्साहन गर्ने विश्वास आयोजकले लिएको छ।
सम्मेलन स्थलमा देशभरका साना तथा मझौला व्यवसायीहरूले ८० वटा स्टलमार्फत आफ्ना उत्पादन र सेवाको प्रदर्शनी, बिक्री, वितरण तथा जानकारी प्रदान गरिरहेका छन् ।

