फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ टिम फुट्यो !

काठमाडौं । यस वर्षको सर्वाधिक सफल चलचित्र ‘पूर्णबहादुरको सारंगी’ निर्माण गर्ने टिम फुटेको छ। चलचित्रका निर्देशक सरोज पौडेलले लेखेको स्टाटसले यसको पुष्टि गरेको छ।

चलचित्र ‘पूर्णबहादुरको सारंगी’ सफल भएको खुशीमा चलचित्रको निर्माण कम्पनीले निर्माता, निर्देशक र कलाकारलाई सक्सेस पार्टी दिएको थियो। त्यसैबेला चलचित्रका मुख्य पात्र अभिनेता विजय बराललाई बोनस स्वरुप नाफाको ५ प्रतिशत रकम समेत दिइयो। चलचित्र अभिनयका बेला जम्मा ४ लाख लिएर काम गरेका अभिनेता बरालले झन्डै १ करोड २४ लाख बोनस स्वरुप पाएका छन् । चलचित्रले ७६ करोड ग्रस कलेक्सन गरेको बताइएको छ।

यसैगरी निर्माण कम्पनीले सोही पार्टीमा अप्रत्याशित रुपमा ‘पूर्णबहादुरको सारंगी २’ निर्माणको घोषणा समेत गरेको थियो। तर, घोषणा हुँदा निर्देशक सरोज पौडेल उपस्थित भएपनी उनले आफुसँग सल्लाह नगरेको र नयाँ चलचित्र निर्देशन पनि नगर्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

निर्देशक पौडेलले चलचित्रको सिक्वेल बन्ने कुरामा असहमति मात्रै राखेनन्, कमाइ खाने भाँडो नबनाउन सुझाव समेत दिएका छन् । ‘पूर्णबहादुरको सारंगी’ का कथाकार तथा निर्देशक पौडेलले चलचित्रको सिक्वेल बनाउने नाममा आफूले लेखेको कथालाई अनावश्यकरूपमा तन्काएर कमाइ खाने भाँडा नबनाउन समेत चेतावनी पुर्ण सुझाव दिएका छन् ।

‘पूर्णबहादुरको सारंगी’ को सक्सेस पार्टीमा चलचित्रको दोस्रो भाग बन्ने घोषणा गरिएको प्रति पौडेलले सार्वजनिक रुपमै लेखेर आफूसँग कुनै सल्लाह नगरी ‘पूर्णबहादुरको सारंगी २’ घोषणा गरिएको भनेका छन् । त्यति मात्रै होइन उनले चलचित्रको निर्देशन आफूले नगर्ने पनि प्रष्ट्याएका छन् । ‘पूर्णबहादुरको सारंगी’ विशुद्ध आफ्नो आइडियामा बनेको तर, पौडेलको ‘पूर्णबहादुरको सारंगी-२’ आफ्नो सिर्जना नभएको उनको भनाइ छ ।

पौडेलले फेसबुकमा लेखेका छन्, ‘पूर्णबहादुरको सारंगी विशुद्ध मेरो स्टोरी, आइडिया र निर्देशनमा बनेको फिल्म थियो, जसलाई दर्शकहरूले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनु भएको छ । इतिहास घरीघरी कोर्न सम्भव हुँदैन, त्यही कारण मैले पूर्णबहादुरको सारंगीले कोरेको इतिहासलाई इतिहास नै बनाई सम्मानपूर्वक राखौं, यसलाई कमाइ खाने भाँडो बनाउन खोज्दा आफ्नै हातले बनाएको इतिहास आफैँ भत्काउन हुँदैन भन्ने लागेर मैले यो फिल्म दोस्रो भागमा काम गर्दिनँ, सकेसम्म २/३/४/६ बनाउनतिर नलागेर आफ्ना कथाहरू फरक शैलीमा भन्नु पर्दछ, भन्ने मेरो मान्यतालाई नै निरन्तर दिँदैछु ।’

निर्देशक पौडेल अगाडि लेख्छन्, ‘मेरो जानकारीबिना मैले सृजना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस् । पूर्णबहादुरको सारंगी २, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनु होला । सारंगी १ ले स्थापित गरेको गरिमा जोगाउनु होला ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय