गोसाइँकुण्ड जाने छोटो बाटोको खोजी गर्दै जनप्रतिनिधि

काठमाडौं । देशभरका ७५३ पालिकामा निर्वाचित जनप्रतिनिधिले चुनावी बाचा अनुसार जनताको लागि पक्कै केहि न केही काम गरिरहेकै होलान् । अर्को निर्वाचनमा आफैं जित्न वा पार्टीलाई जिताउन पनि उनीहरुले जनताको केही काम पक्कै गर्नुपर्नेछ र गरेका पनि होलान् ।
तर,नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ र वडा स्तरका जनप्रतिनिधिहरूले जनताको कामसँगै बिकास र समृद्धि सहित धार्मिक पर्यटनलाई टेवा पुग्नेगरी परोपकारी काम पनि सुरु गरेका छन् ।उनीहरुले अहिले गाउँपालिकाको कार्यालय तादी हुँदै महत्वपूर्ण तीर्थस्थल रसुवाको गोसाईकुण्ड जाने छोटो बाटो(सर्टकट मार्ग) निर्माणलाई प्राथमिकतामा राखेका छन् ।
जसका लागि यतिबेला तादी गाउँपालिका वडा नं १ उर्लेनीको गैरीखर्क जाने सडक धमाधम बनिरहेको छ। यहाँबाट अगाडी बढेपछि विभिन्न मनोरम ठाउँहरूको दृश्यावलोकन गर्दै गोसाईकुण्ड पुग्न सकिन्छ । गोसाईकुण्ड जाने क्रममा बीचमा राहुचुली, सेतीढुङ्गा, र झ्याकुमचुलीजस्ता रमणीय स्थल भेटिन्छन् । यो ठाउँलाई प्रवर्द्धन गर्ने तथा गोसाईकुण्ड जाने यात्रुलाई यो रुटतर्फ तान्ने तादी गाउँपालिकाको योजना रहेको छ । गैरीखर्क काठमाडौँबाट तीन घण्टाको यात्रामा पुग्न सकिन्छ। बिहानै काठमाडौँबाट हिँडेपछि गैरीगाउँमा गएर खाना खान पुगिन्छ । त्यहाँ अहिले होमस्टेहरू निर्माण भएका छन्।
अध्यक्ष तामाङका अनुसार समूह बनाएर आउनेलाई खान बस्न सजिलो छ। त्यहाँबाट खाना खाएर तीन घण्टामा राहुचुली पुग्न सकिन्छ। त्यसपछि त्यहाँबाट केही घण्टाको ट्रेकिङपछि गोसाईकुण्ड पुग्न सकिने वडा नम्बर १ उर्लेनिका अध्यक्ष नकुरदोङ तामाङको भनाइ छ । गैरीखर्कसम्म जान साधनबाट जान सकिन्छ भने, त्यहाँबाट भने पैदल ट्रेकिङ गर्न सकिन्छ ।
वडाध्यक्ष तामाङ भन्छन्-‘यस ठाउँ हुँदै ट्रेकिङ गर्ने क्रममा त्यहाँबाट काठमाडौँको पुरै सहर देख्न सकिन्छ। ज्याकुमचुली हुँदै एक्लेकुण्ड, लामाकुण्ड, नौकुण्ड, त्यसपछि भैरवकुण्ड हुँदै गोसाईकुण्ड पुग्न सकिन्छ। बाटोमा अरु पनि थुप्रै कुण्डहरू छन्। सहज बाटो बनेको छ । पाँच घण्टामा गोसाईकुण्ड पुग्न सकिन्छ।’
यो मार्ग नजिकैका होमस्टे, तामाङ, ह्योल्मो, र शेर्पा संस्कृतिको अवलोकन, तथा गौरीशंकर, मनासलु, अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनका लागि आकर्षक गन्तव्य बन्ने देखिन्छ ।
पालिकाले बजेट विनियोजन गरी उपभोक्ता समितिमार्फत मार्ग निर्माणको गतिलाई तीव्रता दिएको छ । नकुरदोङ तामाङ तादी गाउँपालिका वडा नम्बर १ मा अघिल्लो कार्यकाल पनि वडाध्यक्ष थिए। २०७९ मा पनि दोहोराएर वडा अध्यक्ष बने । अघिल्लोपटक जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख रहेका सन्तमान तामाङ अहिले पालिका प्रमुख छन् । अनुभवी वडाध्यक्ष नकुरदोङलाई साथमा लिएर यो महत्वपूर्ण मार्ग छिचोल्न लागिपरेका छन् ।
तादी उर्लेनीबाट गोसाईकुण्ड जाने सर्टकट मार्गले स्थानीयको जीवनस्तर उकास्नुका साथै पर्यापर्यटन विकासमा योगदान पुर्याउने अपेक्षा रहेको स्थानीय ध्रुवकुमार तामाङ दोङ बताउँछन् । यो मार्गले छोटो, सुरक्षित र रमणीय यात्रा सुनिश्चित गर्छ । काठमाडौंदेखि नुवाकोट तादी हुँदै रसुवाको गोसाईकुण्डसम्म जोडेर पर्यटनका लागि मुख्य गन्तव्य हुनसक्ने स्थानीयको पनि बुझाइ छ।

