चर्चामा आएका सबै काण्ड छानबिन हुनुपर्छ-गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वाइडबडी होस् वा गिरीबन्धु र अन्य चर्चामा आएका सबै काण्डको छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।

महामन्त्री थापाले यस्ता चर्चामा आएका काण्ड छानबिन गर्न अहिलेको अख्तियारले सक्दैन भने सर्वशक्तिशाली आयोग बनाउनुपर्ने समेत बताए।तर, अहिलेसम्म चर्चामा आएका सबै काण्डहरु छानविनमा आउनुपर्ने उनको भनाइ थियो।

काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वाइडबडीदेखि ललिता निवाससम्मका काण्डहरु छानविन हुनुपर्नेमा आफू दृढ रहेको पनि बताए। यसको लागि जनतालाई आश्वस्त पार्न अख्तियारले नसकेको खण्डमा सर्वशक्तिशाली आयोग बनाएर भएपनि भ्रष्टाचारका काण्डहरु छानविन गर्नुपर्नेमा उनको जोड थियो।

‘जनताले सुनेका जतिपनि काण्डहरु छन्, त्यो चाहे वाइडबडी काण्ड होस्, चाहे त्यो ललिता निवास होस्, चाहे त्यो गिरीबन्धुको होस्, चाहे त्यो शिविरको होस्, जतिपनि छन्, लामो लिस्ट बन्छ । त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पार्ने, यसभित्र भएको प्रत्येक काण्डको अख्तियारले गर्छ । ठीक छ, हामीलाई विश्वास छ । अख्तियारले गर्न सक्दैन, कुनै सर्वशक्तिशाली आयोग बनाउनुपर्छ, बनाऔं,’-महामन्त्री थापाले भने ।

सर्वशक्तिशाली आयोग बनाइसकेपछि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद जोसुकै र जतिसुकै शक्तिशाली मान्छे दोषी देखिएपनि कारबाही गरिनुपर्ने उनको भनाइ थियो। उनले पदमा बहाल रहेको वा भूतपूर्व जो भएपनि सार्वजनिक ओहदामा बसेकाहरुले गरेको भ्रष्टाचार नेपाली समाज र राज्यले छोड्दैन भन्ने मानक यही सरकारले स्थापित गर्नुपर्ने बताए ।

‘सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेका मान्छेहरुलाई नेपाली समाजले छाड्दैन । राज्यले छाड्दैन । भन्ने मानक हामीले स्थापित गर्न सक्यौं भने देश ठीक बाटोमा गयो भन्ने अवस्था बन्छ’,-उनले भने-‘हामीले त्यो बनाउने गरी काम गर्ने हो । नेपाली कांग्रेसको आत्म भनेको विधिको शासन हो।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय