अखिल क्रान्तिकारीमा उमेर हदको पक्षमा बहुमत,अब ३२ वर्ष मुनिका मात्रै उम्मेदवार

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने पक्षमा बहुमत देखिएको छ । यो संगै अब ३२ बर्ष माथिका विद्यार्थी नेतृत्वमा हुने छैनन् ।
महाधिवेशनमा यो विवाद उठेपछि गत शनिबार उमेर हद राख्ने कि खुला छाड्ने भन्नेबारे टुंगो लगाउन देशभरका प्रतिनिधिले मतदान गरेका थिए। जसमा उमेर हद लगाउने भन्ने पक्षको जित भएको छ । परिणाम अनुसार २१ मतले उमेर हद लगाउने पक्षमा बहुमत पुगेको हो।
निर्वाचन समितिले आइतबार राति १० बजे सार्वजनिक गरेको नतिजाअनुसार उमेर हदको पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । उनका अनुसार उमेर हद लगाउने पक्षमा २१ मत बढी परेकाले उमेर हद लगाउने मतको पक्ष मत विजयी भएको छ ।
मतदानपछि शनिबार नै नतिजा सार्वजनिक गर्ने भनिए पनि उमेर हदको पक्षमा मत आउने सम्भावना बढी देखिएपछि धाधली हुने सम्भावनालाई आकलन गर्दै निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको थिएन । त्यससँगै केही जिल्लामा विवाद देखिएको समेत भनियो ।तर, अन्तिम परिणाम घोषणासँगै अहिले नेतृत्वमा रहेका धेरै पदाधिकारीहरु उम्मेदवार बन्न नपाउने भएका छन् ।
निर्वाचन समितिका अनुसार अब ३२ वर्ष मुनिबाट नेतृत्व छान्न अखिल क्रान्तिकारीमा माघ ५ गते मनोनयन दर्ता हुने र माघ १२ गते शनिबारका दिन निर्वाचन हुनेछ । खासगरी सहकारी प्रकरणमा जोडिएको आरोप लागेका हालका महासचिव दिपेश पुन सहित केही विद्यार्थी नेताको लागि अब अध्यक्ष हुने ढोका बन्द भएको छ।

