जिल्लामा धेरै काम गरेको छु, ०८४ को चुनाव यहीँबाट लड्छु-महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा.  प्रकाशशरण महतले ०८४ मा प्रत्येक्ष निर्वाचन लड्ने कुराको तयारी गरेका छन् ।

नुवाकोटको प्रसिद्ध पर्यटकीय स्थल घ्याङस्वारामा आयोजित कार्यक्रममा जिल्लामा आफूले धेरै काम गरेको र आगामी ०८४ सालको चुनाव नुवाकोट क्षेत्र नम्बर १ बाटै लड्ने स्पष्ट पारेका हुन्।

नुवाकोटको पञ्चकन्या कपिलेश्वर गाउँपालिका-४ स्थित घ्याङस्वारामा नेपाल तरुण दलले आयोजना गरेको बृहत वनभोज कार्यक्रममा डा.महतले आफ्नो सहभागिता जनाएका हुन्। नेपाली कांग्रेसको १०० दिने कार्यक्रमअन्तर्गत तरुण दल नुवाकोट क्षेत्र नं. १ ले आयोजना गरेको उक्त जिल्लाव्यापी पिकनिक कार्यक्रममा महत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यहाँ उनले ०८४ को चुनाव कांग्रेस एक्लै लड्ने कुरा र आफू नुवाकोटको जन प्रतिनिधि बन्ने कुरा दोहोर्‍याए ।

कार्यक्रममा विशिष्ट अतिथि अभियानका केन्द्रीय प्रतिनिधि किरण पौडेल, जिल्ला सभापति रमेश महत, नेता केदार नरसिंह केसी, पञ्चकन्या गाउँपालिका सभापति माधवप्रसाद खनाललगायत जिल्लाका उल्लेख्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महतले भने, “पार्टी भनेको ब्यक्ति होइन, यो समाजसेवा गर्ने माध्यम हो। देश र जनता नरहे केही पनि हुँदैन। मैले जे काम गरेको छु, देश र जनतालाई प्राथमिकतामा राखेर गरेको छु। आगामी दिनमा पनि त्यही प्राथमिकतामा काम गर्नेछु।”

जिल्लामा पटकपटक योजना कार्यान्वयनदेखि बिकासका काममा आफ्नो योगदानको चर्चा गर्दै उनले थपे, “म ०८४ सालको चुनाव नुवाकोट क्षेत्र नम्बर १ बाटै लड्छु। ढुक्क हुनुस्।”

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति रमेश महतले संगठन सुदृढीकरणका लागि आयोजित कार्यक्रममा गुट-उपगुटको रङ दिनु आवश्यक नरहेको भन्दै सबै मिलेर पार्टी बलियो बनाउन लाग्नुपर्ने बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय