सहकारी ठगीको जालो : सबै पार्टी पालैपालो !

काठमाडौं । देशभरका सहकारी बचत अपचलन प्रकरणमा लहरो तान्दै जाँदा पहरो सम्म थर्किने अवस्था देखिएको छ। पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणबाट थालिएको अनुसन्धान र त्यसमा जोडिएका ब्यक्तिको पहिचान हुँदै गर्दा अहिले सहकारी ठगीको जालो देशैभर फैलिएको देखिन्छ।

सहकारी ठगी प्रकरणमा नाम मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले हिरासतमै छन् । अदालतमा २८ करोड बिगो दाबी सहित मुद्दा परेका उनको केही दिनमा पुर्पक्षका लागि जेलयात्रा वा धरौटीमा रिहा भन्ने फैसला हुनेछ।

तर,उनिमाथी माथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको वा सरकारले फसाएको भन्ने आरोप रास्वपा नेताकार्यकर्ताले लगाइरहेका बेला सोही मुद्दामा पक्राउ परेका अन्य ब्यक्तिहरु हेर्‍यो भने सबै पार्टीका नेताकार्यकर्ता पालैपालो मुछिएको भेटिन्छ। अहिले नै पक्राउ परेका मध्य रवि लामिछाने रास्वपा सभापति हुन् भने अर्का देवकुमार नेपाली नेकपा एमाले गण्डकी प्रदेश सदस्य तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर हुन् । नेपाली माओवादीका तर्फबाट पुर्व र एमालेका तर्फबाट बर्तमान मेयर हुन् ।

यसैगरी सहकारीकै पुर्व उपाध्यक्ष मिना गुरुङ नेकपा एमाले नेतृ एवं एमालेबाटै गण्डकी प्रदेश सांसद हुन् । अर्का आरोपी शिव गुरुङ एमाले युवा संघका केन्द्रिय नेता हुन् । त्यस्तै पक्राउ नपरेपनी २ करोड बिगो दाबी सहित मुद्दा दर्ता भएका दिपेश पुन माओवादी विद्यार्थी संगठनका महासचिव हुन् । उनी पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका कान्छा छोरा समेत हुन् ।

उता,रामेछापका माओवादी नेता कैलाश दर्लामी पनि सोही सहकारी प्रकरणमा मुछिएका छन् ।रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ का वडाध्यक्ष दर्लामीले जीबी राईको कम्पनीमार्फत सहकारीको बचत रकम अपचलन गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

सिन्धुलीका विशाल तामाङ कांग्रेस नेता हुन् । उनी पनि पोखराको सूर्यदर्शन सहकारी मुद्दामा १७ नम्बरका प्रतिवादी हुन् । तामाङ विरुद्ध पनि जीबी राईको संगठित समूहमा रहेर सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोप छ।

अर्का ब्यक्ति ज्ञानबहादुर बम्जन पनि कांग्रेसकै जिल्ला स्तरका नेता हुन् । ओखलढुंगा घर भई हाल सिन्धुली सरेका ज्ञानबहादुर बम्जन गोर्खा विकास बैंकसहित धेरै वटा वित्तीय संस्थाको बचत अपचलन गरेर अमेरिका भागेका डीबी बम्जनका नातेदार पनि हुन् ।ज्ञानबहादुरकी भाञ्जी संगीता नेपाली कांग्रेसको सहकारी विभाग सदस्य हुन् भने दिदी हेमकुमारी बम्जन कांग्रेसबाट अघिल्लोपटक ओखलढुंगाको मोलुङ गाउँपालिका उपाध्यक्ष थिइन् ।

सुर्यदर्शन सहकारीको जालो भित्र मात्रै सबै दलका नेताकार्यकर्ता पालैपालो जेलिएका होइनन् । देशभरका जति पनि सहकारी रकम अपचलन भएका छन् त्यसमा कहिँ न कहिँ राजनीतिक दलका नेताकार्यकर्ता नै बढी संलग्न भएको देखिन्छ। एमाले नेता ऋषिकेश पोखरेलकि श्रीमती सहकारी प्रकरण मै फरार छिन् भने एमाले निकटका ब्यबसायी इच्छाराज तामाङदेखि केबि उप्रेती,केदार शर्मा,सुरेन्द्र भण्डारी,नेत्रपाणी बास्तोलालगायत सहकारी प्रकरणमै मुछिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय