‘गणतन्त्र’ को विकल्प ‘गणतन्त्र’ नै हो

सम्पादकीय

आज गणतन्त्र दिवस । २०५२ साल फागुन १ देखि सुरुभएको सशस्त्र युद्धको जगमा २०६२/०६३ मा ऐतिहासिक दोस्रो जनआन्दोलन सफल भयो। तत्कालीन समयमा युद्धको नेतृत्वकर्ता नेकपा माओवादी र संसदीय राजनीतिमा रहेका ७ दलबीच भएको सहमति अनि ०६४ को संविधान सभा निर्वाचन पश्चात् २०६५ जेठ १५ गते नेपालमा ‘गणतन्त्र’ घोषणा भयो।

संविधान सभा निर्वाचनबाट त्यसबेला सबैभन्दा ठूलो दल भएका कारण गणतन्त्रमा माओवादीले बढी हिस्सेदार बन्न खोजेपनी गणतन्त्र घोषणा हुनुमा नेपाली कांग्रेस,नेकपा एमाले र मधेसी दलहरू सहित विभिन्न जातजातिको आन्दोलन र संघर्ष पनि उत्तिकै महत्त्वपूर्ण छ। अझ संबैधानिक राजतन्त्र मानेर बहुदलीय प्रजातन्त्र मात्रै भए पुग्छ भनेर अघि बढेका कांग्रेस एमालेले सिधै ‘गणतन्त्र’ मान्न तयार हुनु पनि अर्को एउटा उपलब्धि मान्नुपर्छ ।

जे होस् देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको उदयपछि धेरैले आफ्ना अधिकार निर्धक्क माग्न पाएका छन् । महिला, दलित, जनजाति, मधेसी वा पछाडी पारिएका वर्गले राज्यको माथिल्लो तहसम्म आफ्नो अधिकार र हैसियतको हिस्सेदारी बन्न पाउनु खुशीको कुरा हो। यो गणतन्त्रको सुन्दर पक्ष पनि हो। तर,पछिल्लो समय गणतन्त्रलाई अनेक ढंगले बद्नाम गर्ने र गणतन्त्रको विकल्प खोज्ने कुरा पनि हुन थालेका छन् । यो आम जनतालाई स्विकार्य कुरा होइन । तथापि केही पश्चगामी र यथास्थितिवादी शक्तिहरुले गणतन्त्र खराब व्यवस्था हो भन्ने भ्रम फैलाउन खोजिरहेको देखिन्छ। गणतन्त्रकै कारण यस्ता अभिव्यक्ति निर्धक्कसँग बोल्न र लेख्न पाएको कुरा भने तिनले बिर्सिएका छन् । केही राजनीतिक दलका सदस्य वा ब्यक्तिका खराब चरीत्रलाई गणतन्त्रसँग तुलना गरेर व्यवस्था नै खराब हो भन्ने भ्रमपूर्ण र गलत सूचना फैलाउन खोजिएको छ। तसर्थ,यस्ता भ्रमपूर्ण सूचनाप्रति सबैले चनाखो बन्ने बेला आएको छ।

गणतन्त्र घोषणापछि कांग्रेस,एमाले,माओवादी र मधेसवादी दलका नाममा पटकपटक सरकार बनाउने र भत्काउने खेलहरू भए । गणतन्त्रलाई हुर्काउन भन्दा बदनाम गर्न लागिरहेका गिरोहसँगै ती दलको चुनावी गठबन्धन समेत भए। त्यसैको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र माथी हिलो छ्याप्ने र बदनाम गर्ने तत्व देखिन थाले । यद्यपि अहिले त्यस्ता गतिविधि गर्नेहरू कमजोर बन्दै गएका छन् । गएको फागुन २१ को निर्वाचनपछि झण्डै दुई तिहाईको सरकार बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको यो सरकारलाई पनि गणतन्त्र बिरोधि हो कि भनेर जनताले शंका गरेको देखिन्छ । जून कुरा सत्य हो वा होइन सम्बन्धित पार्टी नेतृत्व र सरकार प्रमुख(प्रधानमन्त्री)ले स्पष्ट पार्नुपर्छ ।

हिजो जनताबाट फालिएका शक्तिसँग प्रधानमन्त्री र मन्त्रीहरुको समेत नाम जोडेर गणतन्त्र विरोधी भनिरहेका बेला संघीय संसदमा उभिएर प्रधानमन्त्रीले ‘म गणतन्त्रको प्रधानमन्त्री हुँ’ भन्न सक्नुपर्छ । गणतन्त्र बिरोधि गतिविधि कसैबाट भएमा यो सरकारले त्यसलाई रोक्नुपर्छ,संघीय संसदमा गणतन्त्र बिरोधिलाई स्थान र महत्त्व दिनै हुँदैन र देश भित्र वा बाहिर गणतन्त्रका विरुद्ध अतिरन्जित अभिव्यक्ति दिने कसैलाई पनि छुट दिइनुहुन्न। हुनत अहिलेको सरकारले संविधान शंशोधनको लागि केही गृहकार्य सुरु गरेको पनि छ। यसलाई संसद भित्रका दल र बाहिर रहेका दल तथा सरोकारवाला सबै पक्षको सहयोग लिएर छिटो टुंगोमा पुर्‍याउन जरुरी छ।

साँच्चिकै भन्नुपर्दा नेपालमा अबको राजनीति जनताबाट प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बाहेक अरु विकल्पले सुधार्न नसक्ने देखिएको छ। संविधान संशोधन गरेर प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान अब ढिला गर्न हुँदैन । गणतन्त्रका विरुद्ध पूर्वराजावादी र अतिवादी शक्तिले चलखेल गर्नुको कारण पनि वर्तमान निर्वाचन प्रणाली र संसदबाट निर्वाचित हुने राष्ट्रपती र प्रधानमन्त्री प्रणाली नै हो। त्यसैले गणतन्त्र दिवसका दिन सबैले यति संकल्प गर्नैपर्छ कि गणतन्त्र वा लोकतन्त्रको विकल्प अझै उन्नत गणतन्त्र नै हो। यो भन्दा पछाडि फर्किने छुट कसैलाई छैन। यदि कसैले गणतन्त्रलाई कमजोर बनाउने वा लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्ने धृष्टता गर्दछ भने जनताले त्यसको हिसाबकिताब निकाल्ने छन् । सबैलाई चेतना भया !

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय