भ्रष्टाचारीका संरक्षक नै प्रचण्ड हुन् : प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुख्य संरक्षक नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको आरोप लगाएका छन् ।
प्रधानमन्त्रीले प्रचण्डले क्षणिक स्वार्थको लागि अझै पनि भ्रमको खेती गरिरहेको र मुख्यतः भ्रष्टाचारीको संरक्षक उनी आफै रहेको समेत बताए। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने’माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी सुरु भएको र मान्छेलाई दुःख दिने अनि कुप्रचार गर्ने काम चलेको हो,यो कुरा सबैलाई थाहा भैसकेको छ।’
उनले नराम्रा कामहरुको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले गरिरहेको भन्दै एमाले र आफूविरुद्ध बढी भ्रम पैदा गर्नेमा सक्रिय रहेको दाबी समेत गरे।‘माओवादी जुन दिन देशमा पलायो, त्यो दिनबाट जाली, फटाहा, बेइमान, कहिले मुद्दा हाल्ने, के गर्ने, मान्छेहरूलाई दुःख दिने, कुप्रचार गर्ने, यो सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ’ उनले अझै थपे-,’नराम्रा कामहरू जति प्रचण्ड महोदयले नै नेतृत्व गरिरहनुभएको छ। उहाँहरूको गिरोह सक्रिय छ। अरू होइन, नेकपा एमालेका विरुद्ध सक्रिय छ, त्यसमा पनि मेराविरुद्ध सक्रिय छ।’
प्रधानमन्त्री ओलीले आफुलाई शिवजीसँग तुलना गर्दै भने-,’शिवजीले त विष सेवन गरेर कहिले गोसाईंकुण्ड पुग्नुहुन्थ्यो, कहिले कता ! तर, म यहीँ काठमाडौँ बसीबसी पिइदिन्छु र पचाइ दिन्छु ।’

