पूर्वगृहमन्त्री लामिछानेको आजबाट पर्सामा बयान

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा प्रहरीले आजबाट लिखित बयान लिन सुरु गर्ने भएको छ। सोमबार उनको मौखिक बयान लिएको थियो ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार पोखराबाट काठमाडौं हुँदै सिमरा विमानस्थल लगेर बिरगंज पुर्याइएको थियो। बिरगंजमा उनको स्वास्थ परिक्षण समेत गरिएको छ।सहकारी रकम हिनामिनाबारे अनुसन्धानका क्रममा लामिछानेलाई पोखरा,चितवन,रुपन्देही र हाल वीरगन्ज लगिएको हो । प्रहरीले लामिछानेसँग बयान सकेपछि पुनः कास्की पठाउने छ।
लामिछानेको औपचारिक बयान आज(मंगलबार) लिइने प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय गरी औपचारिक बयान लिइने पर्सा प्रहरीले जानकारी दिएको छ।लामिछानेलाई जिल्ला प्रहरी कार्यालयकै भीआईपी बस्ने कोठामा सुत्ने व्यवस्था गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई प्रहरी अधिकारीहरू आएको बेला बस्ने भीआईपी कोठा उपलब्ध गराइएको हो । तर,सुरुमा महिला हिरासत कक्षमा राख्ने तयारी थियो। पछि कतैको आदेशमा त्यहाँ राखिएको हुनसक्ने रास्वपा नेताहरूको बुझाइ छ। यद्यपि पर्सा प्रहरी स्रोतले लामिछानेलाई भीआईपी सुविधा उपलब्ध नगराइएको जिकिर गरेको छ।
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा सभापति लामिछानेको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले जिल्ला अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जीको माग गरेको थियो । सोही आधारमा पर्सा जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनिसङ्गै पुर्व डिआइजी छबिलाल जोशी पनि बिरगंज हिरासत मै छन् । उनीहरु दुबै गोर्खा मिडिया प्रालिमा जिबि राईको साझेदार भएको प्रहरीको भनाइ छ

