सुन्तला छाडेर मौरीपालन गर्दा वार्षिक ३५ लाख आम्दानी

रासस

पर्वत । कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका-२ देउपुर कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् । उनि सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित हुन थालेका हुन् ।

घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा परेका थिए। सुन्तलामा भविष्य नदेखेपछि उनि मौरीपालनतर्फ आकर्षित भए।

शुरुमा उनले घरको आँगनमा केही मौरी पाल्न थाले । माहुरीको घार र महको माग बढ्न थालेपछि आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेको तिमिल्सिनाले बताए । पहाडी भेगमा अनुकूल हुने ‘एपि सेरेना’ जातको मौरी पालेको भन्दै उनले यो व्यावसायबाट वार्षिक रु ३५ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए।

किसान तिमिल्सिनाले भने, ‘यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्‍याउन सकिरहेको छैन ।’

विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्ष मात्र उनले एक सयभन्दा बढी माहुरीका घार बिक्री गरेका थिए।

घरवरिपरि मौरीका घारैघार छन् । बिहान उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने उनको दिनचर्या हो । परिश्रम र मेहनत गर्ने हो भने गाउँमा बसेर पनि लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तिमिल्सिनाले देखाएका छन् ।

विगत २४ वर्षदेखि व्यावसायिक रूपमा मौरीपालन व्यावसाय गर्दै आएका तिमिल्सिनाले वार्षिक ३५ लाख रुपैयाँसम्म आम्दानी हुने जनाउँदै अहिले एक सयभन्दा बढी मौरीका घार रहेका बताए।

शुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा बेहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जति आम्दानी हुने गरेको बताए। उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् ।२०५७ साल देखि व्यावसायिक माहुरीपालन गर्न थालेका तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुन् ।

उत्पादित मह धेरै मात्रामा घरबाट बिक्री हुने गरेको बताउँदै तिमिल्सिनाले काठमाण्डौ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको जानकारी दिए। ‘कुश्माबजार, बाग्लुङ, काठमाण्डौ, पोखरा र बुटवललगायत क्षेत्रबाट पनि व्यवसायीहरू घरमा आएर खरिद गरी लैजाने गरेका छन् ’, उनले भने ।

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए । उनले महमात्र बिक्री गर्दैनन् । मौरीको घार र गोलासमेत बिक्री गर्ने गरेका छन् । मौरीसहितको घार बिक्रीबाट उनको बर्सेनि २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ।

उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा १० हजार रुपैयाँ र मह प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए। उनले एक सिजनमा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए।

मौरीपालनमा अन्य पेसा जस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने, आम्दानी भने उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अगुवा किसान उमाकान्त शर्मा बताउँछन् ।

उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय