एमालेलाई मिनबहादुरले दिएको जग्गाविरुद्ध अदालतमा रिट

काठमाडौं।भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमाले केन्द्रिय कार्यालय भवन निर्माणका लागी दिएको भनिएको जग्गाविरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ ।
काठमाडौ किर्तिपुर-२ मैत्रीनगर स्थित १० रोपनी १४ आना जग्गा भाटभटेनी संचालक गुरुङले एमालेलाई दान दिएका थिए। सो जग्गा दान लिएपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिनबहादुर समेतलाई लिएर भवन शिलान्यास समेत गरेका थिए।
सोही जग्गाबारे अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले रिट दायर गर्न जाँदा सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। तर,पछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्नु भन्दै दरपीठको निर्णय बदरपछी दर्ता गर्न आदेश दिएको हो ।
सोहीअनुसार दर्ता भएको रिटमा आज (बिहिवार)का लागि पहिलो पेसी तोकिएको छ ।अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् । उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका छन् ।
उक्त जग्गा दानमा लिए पछि एमाले पार्टी भित्रै दान लिन हुने र नहुने बिषयमा बहस शुरु भएको छ । पार्टीले जग्गा दान लिएको बिषयमा असहमती राखेर अभिव्यक्ति दिएको भन्दै एमालेले नेता भिम रावल, विन्दा पाण्डे र उषा किरण तिमिल्सिना माथि स्पष्टिकरण सोधेको छ ।

