४३ वटा स्थानीय तह विपद् संकटग्रस्त घोषित

काठमाडौं, १९ असोज । सरकारले १२ जिल्लाका ४३ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। असोज ११ र १२ गतेको वर्षा र त्यसपछि आएको बाढी,पहिरो र डुबानमा परेका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको सिफारिसको आधारमा ती जिल्ला र स्थानीय तहमा बाढीपहिरोले बढी प्रभावित बनाएको भन्दै तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

जसमा कोशीका ओखलढुंगा,उदयपुर, ताप्लेजुङ,पाँचथर, संखुवासभा र सोलुखुम्बु तथा वाग्मती प्रदेशका काभ्रे, ललितपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक,चितवन र धादिङ जिल्लाका बाढीपहिरो प्रभावित स्थानीय तह विपद् संकटग्रस्ता क्षेत्र घोषित भएका हुन्।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काभ्रेको रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन्।

त्यसैगरी धादिङको बेनीघाट रोराङ, नेत्रावती डबजोङ, गजुरी गाउँपालिका र धुनीबेसी नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन्।

उता पाँचथरको फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिका तथा उदयपुरको बेलका नगरपालिका संकटग्रस्त क्षेत्र घोषित भएका छन् भने दोलखाको गौरीशंकर, बिगु र शैलुङ गाउँपालिका पनि संकटग्रस्त क्षेत्रमा परेका छन्।

त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, ललितपुरको महांकाल, वाग्मती, कोन्ज्योसोम गाउँपालिका तथा गोदावरी नगरपालिका पनि विपद् संकटग्रस्त क्षेत्र घोषित भएका छन् ।

रामेछापको मन्थली, रामेछाप, खाँडादेवी नगरपालिका तथा दोरम्बा शैलुङ, सुनापती, लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई पनि सरकारले संकटग्रस्त घोषणा गरेको छ ।

त्यसैगरी सिन्धुलीको गोलञ्जोर, सुनकोशी र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर र बकैया गाउँपालिका तथा चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका पनि संकटग्रस्त क्षेत्र घोषित छन्। अब ती क्षेत्रमा आवश्यक स्रोतसाधन केन्द्रित गरेर राहत, पुनःस्थापना र पुनर्निर्माण लगायतका कामलाई द्रुतगति दिइने गृहमन्त्री रमेश लेखकले जानकारी दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय