प्रधानमन्त्री ओलीसँग कांग्रेस रुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदार ठुलो दल नेपाली कांग्रेसका नेताहरू रुष्ट देखिएका छन् । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारमा सँगै हुँदा पनि एकलौटी निर्णय गराउन खोज्ने र बोल्दा पनि जनता चिढ्याउने तरिकाले बोल्दा कांग्रेसलाई असहज भएको नेताहरुको बुझाइ छ।
प्रधानमन्त्रीले पछिल्लो समय अमेरिका भ्रमणबाट फर्किएपछि दिएको अभिव्यक्ति पनि जनताको पक्षमा नभएको कांग्रेस नेताहरूको गुनासो छ। पार्टी सभापति शेरबहादुर देउवालाई बाहिरी प्रशंसा गरेर ओलीले भूलभूलैयामा पारिरहेको समेत कांग्रेस नेताहरूको बुझाइ छ।
प्रधानमन्त्री ओलीले देउवाको खुलेरै प्रशंसा गर्ने र देउवा पत्नी एवं परराष्ट्र मन्त्री आरजु राणाको मात्रै कुरा पनि सुन्ने,पार्टीका अन्य मन्त्रीको कुरामा ध्यान नदिने,राम्रो काम गरिरहेका स्वस्थ्यमन्त्री प्रदिप पौडेल र पर्यटन मन्त्री बद्री पाण्डेले उठाएका मुख्य सवालमा समेत ओलीले खासै महत्त्व नदिने गरेको सुनिन्छ ।
कांग्रेस नेता एवं काठमाडौं १० का प्रतिनिधि सभा सदस्य राजन केसीले बाढी पहिरोको उद्धारमा सरकार चुकेको र सरकारी संयन्त्रको भौतिक उपस्थिति हुन नसकेको भन्दै प्रधानमन्त्री संगै आफ्नै पार्टीका गृहमन्त्री रमेश लेखकको समेत आलोचना गरे । ‘नख्खुमा किन त्यस्तो भयो ? डोरी र डुङ्गा लिएर समयमा सरकार किन पुगेन ?’ सांसद केसीले भने। यसैगरी सांसद नारायण खड्काले चाडपर्वको मुखमा जनतालाई घर लैजाने प्रबन्ध गर्न नसके अर्को विपत् आइपर्ने चेतावनी दिएका थिए ।‘दसैँ आउन लाग्यो । यहाँबाट मानिसहरू घर जान चाहन्छन्,’ खड्काको भनाइ छ, ‘बाटोको अवस्था यस्तो छ । जनतालाई घर पुर्याउन सकिएन भने अर्को विपत् आइपर्छ । यसतर्फ सरकारले ध्यान दियोस् ।’
सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमाथि प्रश्न उठाए । अमेरिकाबाट नेपाल फर्किएपछि ओलीले जे मनमा लाग्यो त्यही बोल्दै हिँडेको उनको भनाइ थियो ।‘प्रधानमन्त्री ओलीको बोली जथाभाबी भयो । उहाँको प्रत्येक बोलीको जिम्मेवारी हामीले लिनुपर्छ । उहाँ स्वदेश फर्कने बित्तिकै के बोलेको ? यो ठिक भएन,’ उनले थपे ।
कयौँ नागरिक अझै पनि देशका विभिन्न भागमा उद्धार को प्रतीक्षामा रहेका छन् । त्यसै गरी गन्तव्यका लागि हिँडेका यात्रुहरू बिच बाटोमा अलपत्र परेका समाचार समेत आइरहेका छन् । अतः सरकारले आफ्नो सम्पूर्ण संयन्त्र तीव्र गतिमा परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
कांग्रेसले भनेको छ-‘प्राकृतिक प्रकोपले कैयन ठुला-साना सडक अवरुद्ध भएका छन् । कैयौँ पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । चाडपर्वहरूमा घर जान चाहने नागरिकको चाप बढ्ने छ । अतः अवरुद्ध सडकहरूको मर्मत सम्भारको कार्य तीव्र गतिमा अघि बढाइ सम्भव भएसम्म अस्थायी रूपमा वैकल्पिक मार्गको समेत व्यवस्था गरी नागरिकहरू दसैँमा घर जानसक्ने अवस्था निर्माण गर्नको लागि यो बैठक नेपाल सरकारसँग अनुरोध गर्दछ । साथै खानेपानी, स्वास्थ्य संस्था, विद्यालय एवं प्रहरी चौकी जस्ता क्षतिग्रस्त अति आवश्यक भौतिक संरचनाहरू तत्काल पुनर्निर्माणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गर्दछ ।’
यसैगरी सडक मार्गहरूको खराब अवस्थाको कारण हवाई मार्गमा पर्न जाने चापलाई मध्यनजर राखी हवाई भाडा दरलाई न्यूनतम दरमा कायम राख्न हवाई सेवामा आवश्यक सहुलियत प्रदान गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।

