यस्तो छ आजको मौसम, केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने

काठमाडौं, १५ भदौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यसैगरी राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक -दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

