नयाँ मन्त्री को-को ? कांग्रेसले दियो नयाँलाई मौका !

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण लगत्तै आजै मन्त्री परिषदको पनि सपथ हुनेछ । प्रधानमन्त्रीको शपथ ११ बजे राखिएको छ।
नयाँ मन्त्री मण्डलमा नेपाली कांग्रेसले आफ्नो भागमा परेका उपप्रधानमन्त्री सहित ९ वटा मन्त्रालयका लागि प्रस्तावित मन्त्रीको नाम करिब करिब टुंगो लगाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले यसपटक पार्टी भित्रका सबै समुहलाई न्याय गर्नुको साथै मन्त्रीमा नयाँ अनुहार समेत थपेका छन् । यद्यपि उनले आफ्नै श्रीमती आरजु राणालाई पनि मन्त्रीमा समेटेका छन् ।
सभापति देउवाले कसैको चित्त नदुखोस भनेर ९ जनाको नाम टुंगो लाग्दा शेखर-गगन समूहलाई मागेजति तै मन्त्रालय दिएका छन् । यो समुहले ४ मन्त्रालय मगेको थियो।
कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन, परराष्ट्र र वन मन्त्रालय परेका छन्। यसमध्य पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेतृत्व गर्ने सहमति पनि बनेको छ। सिंहले रक्षा मन्त्रालय सम्हाल्ने सम्भावना छ।
गृह मन्त्रालयमा रमेश लेखक निर्विवाद छन् । पछिल्लो समीकरण बनाउन मुख्य भुमिका खेलेका लेखक प्रधानमन्त्री ओलीको लागि समेत रोजाइमा परेपछि उनको गृहमन्त्री बन्ने कुरा पक्का भएको हो। यसैगरी परराष्ट्रमा देउवा पत्नी आरजु राणा, स्वास्थ्यमा प्रदीप पौडेल र पर्यटनमा रामनाथ अधिकारी मन्त्री हुने निश्चित छ।
वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र सहरी विकासमा किशोरसिंह राठौरको नाम पनि करिब करिब टुंगो लागेको छ।यस्तै हृदयराम थानी र तेजुलाल चौधरीको नाम पनि मन्त्रीमा समेटिने छ। तर,यसपटक पनि डा.शशांक कोइराला पक्षबाट मन्त्री बन्ने देखिएन । डा. शशांकको पक्षबाट दिपक खड्का वा दिपक गिरि मध्य एक मन्त्री बन्ने कन्फर्म थियो। पछिल्लो समय शेखर-गगन समूहले ४ जनाको ढिपी नछाडेपछि शशांकको भाग खोसियो।
उता एमालेले पनि अर्थमा विष्णु पौडेल र सूचना तथा संचारमा योगेश भट्टराईलाई जिम्मेवारी दिने पक्का गरेको छ। एमालेमा पुर्व राष्ट्रपति विद्या भण्डारीको समुहबाट पनि मन्त्री बनाउनु पर्ने बाध्यता प्रधानमन्त्रीलाई छ। त्यसैले पृथ्वीसुब्बा गुरुङ मन्त्री हुने पक्का पक्की छ। पुर्व पर्यटन मन्त्री स्व.रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईको पनि मन्त्री हुने निश्चित जस्तै छ।

