कांग्रेसको ‘सेल्टर’ पोखराको ऐतिहासिक घर ढल्यो
प्रतिक भट्ट
पोखरा, ३० असार । नेपाली काँग्रेस पार्टी जत्तिकै पुरानो पोखरा महानगरपालिका-४ स्थित गैह्रापाटनमा रहेको कलात्मक शैलीको तीन तले घर भत्किएको छ । यो घर पञ्चायतकालदेखी बहुदल र लोकतान्त्रिक आन्दोलन सम्म पनि नेपाली कांग्रेसका केन्द्रदेखि जिल्लाका नेताहरूको पुरानो ‘सेल्टर’ मानिन्थ्यो । २००४ सालमा कांग्रेसको जन्म र २००६ सालमा यो घरको जन्म भएकोले सबैजसो नेताहरूको लागि यो घर आश्रय स्थल बनेको थियो।
पोखराको कला र संस्कृतिसँगै कलात्मक ऐतिहासिकता झल्किने यो घर पुरानो र जिर्ण देखिन थालेपछि घरमुली राजेन्द्रनिधि कोइरालाले यसलाई संरक्षण गर्न धेरै प्रयास पनि गरे। कांग्रेस कै नेताहरू पनि यो घरलाई संरक्षण गरेर इतिहास जोगाउनुपर्छ भन्थे तर,प्रयास भने गरेको देखिएन। अन्ततः यसपटकको बर्षासँगै घरको इतिहास मेटियो।
घर निकै जिर्ण भएपछि कुनैपनी बेला ढलेर जनधनको क्षति हुनसक्ने भएपछि घरमुली कोइराला आफैंले सामाजिक सञ्जालमा पुरानो घरको फोटो सार्वजनिक गर्दै लेखे- ‘अब सम्झनामा मात्र ।’
यो घरको नाम र पहिचान पनि अनौठो छ। कसैको आँखामा राजनीतिक इतिहास, कसैको आँखामा आश्रयस्थल र कसैको आँखामा बासस्थान देखिएपनी यो घरलाई धेरैले ‘पञ्चायतविरोधीको भूमिगत घर’ र ‘कांग्रेसको घर’ समेत भन्थे। यसमा तत्कालीन समयको कलात्मक काठका झ्याल ढोका र ढुङ्गा माटो प्रयोग गरिएको थियो।

विगतमा यो घरलाई कांग्रेसका धेरै नेताहरुले आफ्नो सुरक्षीत सेल्टर मानेर गाँस,बास र कपासको रुपमा प्रयोग गरे। राजेन्द्रनिधिका बुवा करुणानिधि कोइरालाले २००६ सालमा घर बनाएको र त्यसपछि नेपाली कांग्रेसका संस्थापक नेताहरुको आश्रय स्थल बनेको इतिहास साक्षी छ । हालका राष्ट्रपति रामचन्द्र पौडेलको त यो घरमा आउजाउ निकै बाक्लो थियो।वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, अर्जुननरसिंह केसी, रामशरण महत लगायत यो घरमा नपुगेका नेता खासै छैनन। कांग्रेसका कतिपय राजनैतिक योजनाहरु यहि घरमा बनेका पनि थिए।
करुणानिधि त्यसबेला ठानेदार थिए । प्रहरी चौकीका हाकिम भएका नाताले पनि सो समयमा सुविधासम्पन्न घर निर्माण गरेका थिए । २००८ सालमा उनी नेपाली कांग्रेस कास्कीका संस्थापक उपसभापति बने ।
बाबुआमाको निधनपछि ऐतिहासिक घरको रेखदेख राजेन्द्रनिधि र उनका भाइ भरतराजले गरे । माटोको घर भएकाले बस्न असुरक्षित ठानेर१५ वर्ष अघि उनीहरु पनि नयाँ ढलान घरमा बस्न थाले। २०७२ को भूकम्पले समेत ढाल्न नसकेको यो घरको एक छेउ केही दिनअघि आफैं भत्किएपछि अहिले डोजरको सहायताले भत्काउन थालिएको कोइराला बताउँछन् ।

