इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि टी-२० विश्‍वकपको फाइनलमा

काठमाडौं, १४ असार । भारत आइसिसी टी-२० विश्‍वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति सम्पन्‍न दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत जारी टी-२० विश्‍वकप २०२४ को फाइनलमा पुगेको हो । भारतले अब उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६ ओभर ४ बलमा १०३ रनमा अलआउट भयो । ह्‍यारी ब्रुकले सर्वाधिक २५ रन बनाउँदा कप्तान जश बट्लरले २३ र जोफ्रा आर्चरले २१ रन बनाए । लियाम लिभिङ्स्टनले ११ रन बनाए ।

भारतका कूलदीप यादवले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए भने अक्षर पटेलले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए । जसप्रीत बुमराहले २.४ ओभरमा १२ रन दिएर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए भने सूर्यकुमार यादवले ४७ तथा हार्दिक पान्ड्याले २३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ३ ओभरमा ३७ रन दिएर ३ विकेट लिए । रिश टोप्ली, साम करान, आदिल राशिद र जोफ्रा आर्चरले १-१ विकेट लिए ।

भारत १० वर्षपछि टी-२० विश्‍वकपको फाइनलमा प्रवेश गरेको हो । पछिल्लोपटक २०१४ को टी-२० विश्‍वकपमा फाइनल खेलेको भारत श्रीलंकासँग पराजित हुँदै उपाधिबाट वञ्‍चित भएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय