एसइई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् !

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २०८० साल चैत महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
१५ चैतदेखि २७ सम्म भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । यस वर्ष बोर्डले नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गरिएको छ ।
यस वर्षदेखि एसईई उत्तीर्ण हुन सैद्धान्तिक (थ्योरी) तर्फ न्यूनतम ३५ प्रतिशत (डी ग्रेड) र आन्तरिक (प्रयोगात्मक) तर्फ न्यूनतम ४० प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान राखिएकाे छ।
‘यसपटक एसईईको नतिजा सार्वजनिक गर्दा नयाँ लेटर ग्रेडिङ लागू गर्दैछौँ,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अब ‘डी’ ग्रेडभन्दा कम अंक ल्याउने उत्तीर्ण भएको मानिँदैन। उनीहरुको मार्कसिटमा ननग्रेड उल्लेख हुन्छ। त्यस्ता विद्यार्थी कक्षा ११ मा भर्ना हुन पाउँदैनन्।’
३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ननग्रेड उल्लेख गरिने उनले बताए। ‘त्यस्ता विद्यार्थी फेरि परीक्षामा सहभागी हुनुपर्छ,’ शर्माले भने, ‘दुई विषयसम्म ‘डी’ ग्रेड नल्याउनेले मौका परीक्षा दिन पाउँछन्। त्यो भन्दा बढी विषयमा ‘डी’ ग्रेड भन्दा कम आएको छ भने अर्को वर्षको परीक्षामा सहभागी हुनुपर्छ।’
यसरी हेर्नुहोस् नतिजा:
एसइईको नतिजा प्रकाशित भएलगत्तै नतिजा हेर्ने अवस्था नहुन सक्छ । अनलाइन पोर्टलमा अपलोड गर्ने क्रममै हुने र एकैपटक धेरेले वेबसाइट खोल्दा सर्भर व्यस्त हुने भएकाले केही समयपछि हेर्नुहोला । अनलाइनमार्फत www.see.ntc.net.np (क्लिक गर्नुहोस्)वा http://result.see.gov.np/Result (क्लिक गर्नुहोस्) मा गएर हेर्न सकिनेछ ।
एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ । त्यसका लागि तपाईले SEE <symbol number> टाइप गरेर ३५००१ मा म्यासेज पठाउनुपर्ने हुन्छ । यसमा पनि रिप्लाई आउन केही समय लाग्न सक्छ ।

