सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई हरायो

काठमाडौं, ६ असार । आइसिसी टी-२० क्रिकेट विश्‍वकप अन्तर्गत सुपर ८ का खेलहरु बुधबारदेखि सुरु भएका छन् । यसअन्तर्गत भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले जीत निकालेको छ । दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरा २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । आन्द्रियस गउस ८० रनमा अविजित रहेपनि टोलीको जीतको लागि पर्याप्त हुन सकेन । गउसले ४७ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए ।

त्यस्तै हर्मित सिंहले ३८ तथा स्टेभेन टैलरले २४ रन बनाए । दक्षिण अफ्रिकाका कगिसो रबाडाले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । एनरिच नोर्त्जे, केशव महाराज र तब्रेज शाम्शीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो । ओपनर क्‍विन्टन डिककले सर्वाधिक ७४ रन बनाए भने कप्तान ऐडन मार्क्रमले ४६ रन बनाए । हेनरिच क्लासेन ३६ र ट्रिस्टन स्टब्स २० रनमा नटआउट रहे । अमेरिकाका सौरभ नेत्रभल्करले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । हर्मित सिंहले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए ।

यस जीतसँगै दक्षिण अफ्रिकाले सुपर ८ को दोस्रो समूहमा २ अंक जोडेको छ । यस समूहमा अमेरिका र दक्षिण अफ्रिकासँगै इंग्ल्यान्ड र वेस्ट इन्डिज पनि रहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय