प्रचण्ड-ओलीको विश्वास नभएपछि सरकारमा नजाने मुडमा साना दल

काठमाडौं, ६ असार । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओलीको बिचमा विश्वास कम हुँदा साना दल बर्तमान सरकारमा सहभागी हुन हच्किएका छन् ।
त्यसो त सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गृहमन्त्री रवि लामिछानेको सहकारी काण्डले पनि अहिलेको सत्ता गठबन्धनको निरन्तरतामा बाधक बन्न सक्ने साना दलको बुझाइ छ।
आगामी आर्थिक वर्षको लागि प्रस्तुत बजेटमा सत्ता गठबन्धन भित्रै मतभेद रहनु, एमाले अध्यक्ष ओलीले सरकारको कामको विरोध गर्नु, रास्वपा मन्त्रीले राजीनामा बोकेर हिडेका छौं भनेर बारम्बार भनिरहनु र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन भन्दा बिपक्षी गठबन्धनतिर हिमचिम बढाउनुले सरकारको आयु कति छ ? भन्ने प्रश्न खडा भएको छ।
पछिल्लो समय सिके राउत नेतृत्वको जनमत पार्टी र रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले प्रयास गरेपनी सफल भएको छैन। यसमा रन्जिताले मन गरे पनि सिके राउतले प्रचण्ड-ओलीकै सहकार्य निरन्तर हुने नहुनेमा शंका व्यक्त गर्दै सरकारमा जान चाहेका छैनन् । त्यसमा पनि सिके राउत पछिल्लो समय पुराना दल भन्दा साना र बैकल्पिक शक्ति निर्माणकर्तासँग सहकार्य गर्न लागि परेका छन् ।
प्रचण्डले सिके राउतलाई उपप्रधानसहित परराष्ट्र, उद्योग वा अन्य रोजेको मन्त्रालय लिएर सरकारमा बोलाए पनि राउतले भने अहिलेसम्म कुनै निर्णय गरिसकेका छैनन्। यद्यपि परराष्ट्र मन्त्रालय अहिले माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हालेका छन् । प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्रालय जनमतलाई र पर्यटन मन्त्रालय रन्जिताको नाउपालाई दिन सकारात्मक रहेको भनेका छन्। यसमा एमालेले पनि हाल पाएको ८ मध्य एउटा मन्त्रालय छाड्ने छ।
तर,सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछाने तयार भैसक्दा पनि साना दल भने सरकारको निरंतरता हुनेमा शंका गर्छन् । स्रोतका अनुसार सीके राउत बर्तमान सरकारसँग खुशी र विश्वस्त दुवै छैनन् । किनभने पछिल्लो समय प्रचण्ड र ओलीको फरकफरक अभिव्यक्ति सार्बजनिक भैरहेको छ। सरकारकै भविष्यलाई लिएर पनि दुविधामा छन्। यो दुविधा हुनुमा केही कारण छन्। प्रचण्डले ओली छाडेर पुनः नेपाली कांग्रेससँग सहकार्य गर्न लागेको हल्ला समेत बाहिरिएको छ।

