आइसिसी टी-२० विश्वकपमा सुपर ८ का खेलहरु आजदेखि हुँदै

काठमाडौं, ५ असार । आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ का खेलहरु आजदेखि सुरु हुँदै छन् । समूह चरणका खेलहरु सकिएसँगै अब सुपर ८ चरण सुरु हुन लागेको हो ।
सुपर ८ मा छनौट भएका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा भारत अस्ट्रेलिया अफगानिस्तान र बङ्गलादेश छन् भने समूह २ मा अमेरिका वेस्ट इन्डिज इंग्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् । दुई समूहबाट शीर्ष २ टोलीले सेमिफाइनल खेल्ने छन् ।
सुपर ८ को पहिलो खेलमा आज अमेरिका र दक्षिण अफ्रिका खेल्दै छन् । खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजेदेखि एन्टिगुआस्थस्थित भिभियन रिचर्ड्स स्टेडियममा सुरु हुनेछ ।
अमेरिकाले समूह चरणमा पाकिस्तानविरुद्ध सनसनीपूर्ण जीत निकालेको थियो । पाकिस्तान र क्यानडालाई हराएको अमेरिकाले भारतसँग पराजित हुँदा आयरल्यान्डसँग अंक बाँडेको थियो । उता दक्षिण अफ्रिकाले भने समूहका चारै खेल जितेर आएको हो । उसले नेदरल्यान्ड्स, श्रीलंका, नेपाल र बङ्गलादेशलाई हराएको थियो ।

