बङ्गलादेशले नेदरल्यान्ड्सलाई हरायो, नेपाललाई दबाब बढ्यो

काठमाडौं, ३२ जेठ । आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहिबार राति भएको समूह डी अन्तर्गतको खेलमा बङ्गलादेशले जीत हासिल गरेको छ । बङ्गलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराएको हो ।
बङ्गलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको भएपनि अन्तिम पाँच ओभरमा सम्हालिन नसक्दा हार व्यहोर्न पुग्यो । तर १५औं ओभरमा लगातार दुई विकेट लिएपछि बङ्गलादेश खेलमा फर्केको थियो ।
नेदरल्याण्ड्सका लागि साइब्रान्ड एङ्गलब्रेटले सर्वाधिक ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए । बंगलादेशका लागि रिशाद होसेनले ३, तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमान र तान्जीम हसन शकीबले १-१ विकेट लिए ।
त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक ६४ रन जोडे । तान्जिद हसनले ३५ रन बनाए भने महमुदुल्लाहले २५ रन जोडे । जाकेर अलीले १४ रन बनाए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले २-२ तथा टिम प्रिंगलले १ विकेट लिए ।
यस जीतसँगै बङ्गलादेशको ३ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानम रहेको छ । नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ भने सोही समूहमा रहेको नेपालको २ खेलमा १ अंक रहेको छ । बङ्गलादेशले अब नेपालसँग खेल्न बाँकी छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ भने प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंक सहित सुपर ८ मा प्रवेश गरिसकेको छ ।

